शुक्रबार, बैशाख १४, २०८१

विषादीका कारण बार्षिक ३ लाख ५५ हजार व्यक्तिको मृत्यु

काठमाडौं, फागुन । विषादीको प्रयोगका कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसहरुको मृत्यु हुने गरेको बताइएको छ । विषादी प्रयोग मुक्त सप्ताहको पूर्वसन्ध्यामा पशुपन्छी विकास मन्त्रालय प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादी मुक्त कृषिको आवश्यकता’ भन्ने मूल नाराका साथ फागुन ६ गतेदेखि १२ गतेसम्म नेपालमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।
केन्द्रका प्रमुख डा डिल्लीराम शर्माले दिएको जानकारी अनुसार विश्वमा हरेक वर्ष ४ करोड मानिसहरुमा विषादीका कारण असर पुग्ने गरेको छ । हालसालै गरेको एक अध्ययन अनुसार हरेक दिन ७ सय व्यक्तिको मुत्यु कुनै न कुनै विषादीसँग सम्वन्धित रहेको पाईएको समेत शर्माले पत्रकार सम्मेलनमा जानकारी गराए ।
गतवर्षको तथ्यांक अनुसार नेपालमा ६ सय ३५ टन खास विष आयात भएको देखिन्छ । जसमा कीटनाशक विषादी मात्र १ सय ६९ टन छ भने ३ सय ४७ टन विषादी रोगनाशक रहेका छन् । त्यसैगरी झारनाशक विषादी १ सय ५ टन र अन्य प्रयोगनका लागि १४ टन विषादी आयात हुने गरेको छ ।
नेपालमा पछिल्लो समय दर्ता नगरिएका विषादीको लुकीछिपी विक्री वितरण तथा प्रयोग भईरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ५, २०७५