शनिबार, बैशाख १५, २०८१

कहाँ बन्दैछन् अनुदानको शीत भण्डारहरु ?

काठमाडौं, मंसिर । कृषि विकास मन्त्रालयले शीत भण्डारणका लागि दिएको अनुदान दुरुपयोग हुने गरेको छ । विशेष गरी शीत भण्डारणका लागि उपलब्ध गराउने रकम विभिन्न राजनीतिक दल निकट व्यक्तिहरुको पहुँचमा हुने भएकाले वास्तविक शीत भण्डार गर्ने भन्दा पनि कागजी रुपमा शीत भण्डारको काम गर्नेहरुले नै अनुदानको रकम दुरुपयोग गरिएको बताइएको छ ।
कृषि विकास मन्त्रालयको विभिन्न आयोजनाले शीत भण्डारण निर्माणका लागि अनुदान दिैदै आएको देखिन्छ । तर शीत भण्डार सञ्चालन भने भएको देखिंदैन । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले निर्माण गरेको भनिएको शीत भण्डार होस् वा मन्त्रालयले कै बजेट बाट निर्माण गर्नका लागि प्रस्तावका आधारमा दिएको शीत भण्डार अझै पनि कागजी रुपमा मात्र देखिएका छन् । ५० प्रतिशत अनुदानका नाममा दिइने यस्ता काममा आर्थिक चलखेलका कारण अनुदान रकम दुरुपयोग हुने गरेको सरोकारवाला निकायहरुकै भनाई रहेको छ । विगत पाँच बर्षमा शीत भण्डार निर्माणका लागि करीव १० करोड भन्दा बढी रकम अनुदानमा वितरण भईसकेको भएपनि खासमा शीत भण्डार निर्माणभने धेरै ठाउँमा भएका छैनन् ।
अनुदान रकम मिलान गर्नका लागि कागजी रुपमा भने शीत भण्डार निर्माण भईसकेको देखिन्छ । कृषि विकास मन्त्रालयले कहाँ र कति संख्यामा शीत भण्डार निर्माणका लागि बजेट उपलब्ध गराइएको छ भन्ने कुरा बताउन चाहँदैन । मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।
कृषि विकास मन्त्रालयले गत पाँच वर्षदेखि नै शीत भण्डारणका लागि बजेट विनियोजन गर्दै आईरहेको छ । अझ गत वर्षदेखि त सातै प्रदेशमा शीत भण्डारण स्थापना गर्ने नाममा बजेट छुट्याएको थियो । राजनीतिक दवावका कारण नुवाकोटको ढिकुरेमा शीत भण्डार स्थापना गर्नका लागि नियम विपरित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत अनुदान दिएको भन्दै विवाद पनि निम्तिएको थियो । यद्यपी अहिले सो कुरा गुपचुप नै रहेको छ ।
नुवाकोटमा बन्दै गरेको शीत भण्डार आलु जाने रहेको नुवाकोटका लागि उपलब्ध गराइएको भनिएता पनि सो शीत भण्डारको लगानी नेकपाका सांसदको रहेको र राजनीतिक दवावका कारण नै सो अनुदान उपलब्ध गराइएको श्रोतले बताएको छ । राजनीतिक दवावका कारण यस्ता धेरै अनुदानहरु उपलब्ध गराएको छ । शीत भण्डार एउटा उदाहरण मात्र हो यस्तौ करोडौंका अनुदान कागजी रुपमा मिलाएर झ्वाम भएका छन्।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७५