शुक्रबार, बैशाख १४, २०८१

प्राविधिक ज्ञान नहुँदा उत्पादनमा कमी

काठमाडौं, साउन । परम्परागत कृषिलाई व्यवसायिक बनाउने नारा जति नै लगाएपनि किसानहरुलाई प्राविधिक ज्ञान दिन नसक्दा कृषि उपज उत्पादनमा बृद्धि हुन सकेको छैन । किसानले मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा समेत पर्याप्त उत्पादन लिन नसकेको कृषि विज्ञहरुले बताउँदै आईरहेका छन् ।
प्राविधिक ज्ञानकै अभावले नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिश गरेका बीउबाट समेत किसानले पर्याप्त आम्दानी लिन नसकेको बताइएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरका अनुसार नार्कले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसक्दा किसानहरुले बढी भन्दा बढी आम्दानी लिन नसकेको बताउँछन् ।
किसानले प्राविधिक ज्ञान सहित मल र सिँचाइ समयमै पाएमा उत्पादन दोब्बर लिन सक्ने उनले बताए । अहिले राष्ट्रिय उत्पादन २.४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्छ उनको भनाई छ । “सम्बन्धित सरोकारवाला निकायले किसानका लागि आवश्यक पूर्वाधार तथा मल, वीउ, सिँचाई जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराउन ध्यान दिनु पर्ने बैज्ञानिक ठाकुरको भनाई छ ।
नार्कले धान, मकै, गहँुलगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ । कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ । नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ । त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ । “किसानको खेतमा दुई यामसम्म बीउ लगाएर मात्र किसानका लागि सिफारिश गरिन्छ,” ठाकुरले भने । नार्कले गत वर्ष दुई किसिमका धानको बीउ सिफारिश गरेको थियो ।
बालीमा लाग्ने रोगको उपचार समयमै नपाउँद किसानले साविकको जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय निकायमा समस्या राख्ने गरेका छन् । रोग लाग्दा किसान कहाँ जाने भन्ने अन्यौलमा छन् । एग्रोभेटले रोगको पहिचान नै नभई विषादी दिने गरेका छन् । जसका कारण किसानलाई समस्या पर्ने गरेको छ । त्यस्ता समस्या समाधान गर्नका लागि पनि किसानहरुलाई प्राविधिक ज्ञान हुनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २९, २०७५