शनिबार, बैशाख १५, २०८१

नगरपालिकाद्धारा कृषि उपकरण वितरण

भीमदत्तनगर, असार । कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरक्षेत्रका किसानलाई रु २४ लाख बराबरको कृषि उपकरण वितरण गरेको छ जनाएको छ । परम्परागत रूपमा गरिँदै आएको खेती प्रणालीलाई विस्थापित गरी आधुनिकिकरण र कृषिलाई व्यावसायिकतातर्फ लैजान कृषि उपकरण वितरण गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले जानकारी दिए । उनले किसानलाई ट्याक्टरको साँचो हस्तान्तरण गरेका हुन् ।
बेदकोट नगरपालिका–९ सुन्दरपुरका किसानलाई ट्याक्टरलगायत आवश्यक कृषि उपकरण हस्तान्तरण गरिएको छ । स्थानीय इन्दे्रणी सहकारीमा आवद्ध कृषकलाई नगरपालिकाले अनुदानस्वरूप रु २४ लाख बराबरका कृषि औजार हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई विस्तार गर्न तथा किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न उपकरण वितरण गरिएको चन्दको भनाइ छ । कार्यक्रममा इन्द्रेणी सहकारीका ब्लक संयोजक पदम कुँवरले नगरपालिकाले कृषि औजार तथा रु एक लाख ५० हजार बराबरको बीउ दिएको बताए । उनले नगरपालिकाले ट्याक्टर, रोडाभेटर र १४ वटा पानी मिटर बोर्ड अनुदानमा उपलब्ध गराएको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०७५