शनिबार, बैशाख २२, २०८१

सुन्तलाको उत्पादन घट्यो

पाल्पा, १२ मङ्सिर । व्यावसायिक रूपमा सुन्तला खेती गरेर वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्ने पाल्पाका किसान यस वर्ष सुन्तला उत्पादनमा कमी आउँदा निराश बनेका छन् । जिल्लाको पश्चिमी भेगका अधिकांश स्थानमा व्यावसायिक रूपमा सुन्तला खेती गरेर वार्षिक दस लाख रुपियाँसम्म आम्दानी गरेका किसान ५० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएपछि निराश बनेका हुन् । जिल्लाको भुवनपोखरी, छहरा, कुसुमखोला, भैरवस्थान, देउराली, मुझुङ्, सोमादी, सुन्तला उत्पादनको पकेट क्षेत्र हो तर यस वर्ष यस क्षेत्रमा सुन्तला उत्पादन ५० प्रतिशतले घटेको किसानको भनाइ छ । विगत ३० वर्षदेखि सुन्तला खेती गर्दैआएका किसानले सुन्तला उत्पादन ह्वात्तै घटेको यो पहिलो अनुभव भएको बताउँछन् ।
जीवनभर सुन्तला खेती गरेर ६८ वर्ष पुगियो रैनादेवी छहरा–५, मुझुङ्का अगुवा किसान रामबहादुर कार्कीले भने, यो वर्ष सुन्तलाका बोटमा फल लागेकै छैन, फल लागेका सुन्तला पनि पुष्ट छैनन् । तीस वर्षको आफ्नो अनुभवमा सुन्तलामा दाना नलागेर नाजुक अवस्था बनेको यो पहिलो पटक होला उहाँले निराश हुँदै भने यहीँ अवस्था रहे सुन्तलाको व्यावसायिक खेतीमा लाग्ने किसान विस्थापित हुनुपर्ने अवस्था आउँछ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १२, २०७४