आइतवार, बैशाख १६, २०८१

मौरीपालनमा किसानको आकर्षण

तेह्रथुम, कार्तिक । प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।
महको बजार अभाव नभएको र मौरीगोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँंगै मौरीपालन पनि गरेका हुन् । अघिल्लो वर्ष सरकारले देशका ६५ जिल्लामा एकैपटक युवा लक्षित कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायमा ठूलो रकम लगानी ग¥यो । तर तेह्रथुमलाई मौरीपालनका लागि सरकारले छनोट गरेन । सरकारीस्तरको कुनै पनि सहयोग नपाएरै पनि यहाँका किसानले मौरीपालनलाई व्यावसायिक समेत बनाएका छन् ।
यस व्यवसायमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारले हामीहरूलाई उपेक्षा गरेको वसन्तपुरका मौरीपालक किसान चन्द्र कार्कीले बताए ।
व्यावसायिक मौरीपालनमा राम्रो सम्भावना देखिएपछि ओख्रेका किसान नोचन्द्र पौडेलले पनि सेरेना जातको मौरी पाल्न थालेका छन् । पराम्परागत रूपमा मौरी पाल्दै आउनुभएका पौडेलले अहिले २५ थान आधुनिक घार बनाएर मौरी पालेका हुन् । यो व्यवसायमा जिल्लाको राम्रोसंग फष्टाएकाले त्यसका लागि किसानलाई तालीम, लगानीका लागि सस्तो ब्याजमा ऋण र अनुदानको व्यवस्था हुनुपर्नेमा कुनै पनि सरकारी या गैरसरकारी संस्थाले नसघाएकोे उनले गुनासो गरे । थोरै मात्र सरकारी सहयोग भए जिल्लामा व्यावसायिक मौरीपालन फस्टाउने साना किसान कृषि सहकारी संस्था वसन्तपुरका अध्यक्ष चित्रबहादुर कार्कीले जोड दिए । उक्त सहकारी मार्फत ३० जनाभन्दा बढी स्थानीय किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४