सोमवार, बैशाख ३१, २०८१

कृषि परियोजनाको लक्ष्य पूरा भएन

बारा, साउन ९ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारामा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन सकेको छैन । आव २०७३/७४ मा बाराका लागि परियोजनाअन्तर्गत कूल रु ३२ करोड ७२ लाख ६५ हजार बजेट विनियोजन भएको थियो । तर उक्त बजेट २०७३ माघदेखि मात्र निकासा भएकाले लक्ष्य अनुरूप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।
कार्यक्रमको अभाव र कर्मचारीको कमीले गर्दा लक्ष्यअनुसार कार्यक्रम नभई सो परियोजना अन्तर्गत जम्मा रु १२ करोड मात्र खर्च भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अनुदानसहित सुपर जोन कार्यान्वयन एकाइ बाराका प्रमुख युगलकिशोर तिवारीले बताए । सो परियोजनाअन्तर्गत आव २०७३÷७४ मा सुपर जोनतर्फ प्रतिहेक्टर रु तीन लाख अनुदानमा १५ हेक्टर क्षेत्रमा नयाँ पोखरी निर्माण भएको, ८५ प्रतिशत अनुदानमा तीनवटा आइस प्लान्ट, पाँचवटा ह्याचरी निर्माणको कार्य सम्पन्न भएको छ ।
यसैगरी साना सिँचाइतर्फ १२५ वटा बोरिङ, ११० पम्पसेट र १५ सेट विद्युतीय मोटर कृषकलाई वितरण गरिएको छ भने ५० प्रतिशत अनुदानमा एक्साभेटर तीनवटा, पिकअप जिप छवटा, ट्र्याक्टर छवटा र जाली ५०० मिटर वितरण गरिएको प्रमुख तिवारीले बताए ।
सुपर जोनको लक्ष्यनुसार ९५० हेक्टर जमिनमा नयाँ पेखरी निर्माण गर्ने, मत्स्य नर्सरी ५० हेक्टरमा, कस्टम हायरिङ सेन्टर एक, मिनी ल्याब एक, कृषि अध्ययन संस्था एकसमेतका लागि रु ३२ करोड ७२ लाख ६५ हजार बजेटको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, साउन ९, २०७४