आइतवार, बैशाख १६, २०८१

बीमा नगर्दा चितवनमा केरा किसान प्रभावित

चितवन, असार । बाह्र बिगाहामा केराखेती गर्दै आउनुभएका पूर्वी चितवनका रामचन्द्र दवाडीको हावाहुरीले ढलाउँदा यसपालि ९०० बोट केरा क्षति भयो । पहिलोपटक केराखेती गर्नुभएका उहाँलाई बीमाको बारेमा जानकारी भएन । बीमाबारे जानकारी नुहँदा उहाँलाई रु तीन लाख ६० हजार बराबर घाटा लाग्यो ।
दवाडीले जस्तै स्थानीय ३० केरा किसानका केरा हावाहुरीले क्षति ग¥यो । उहाँहरूको करिब रु एक करोड बराबरको केरा नष्ट भएको छ । तर राहत भने शून्य छ ।
जिल्लामा बीमा नगरेका कारण केरा किसान प्रभावित हुँदै आएका छन् । बीमा गर्ने किसानले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाउँदै आएका छन् । तर बीमा नगरेका किसान उक्त सेवाबाट वञ्चित हुनुपरेको छ ।
चितवन केरा उत्पादक सङ्घले बीमाका लागि केरा किसानलाई पटकपटक आग्रह गर्दै आएको छ । सङ्घका अध्यक्ष विष्णुहरि पन्त बीमा गर्न आग्रह गर्दा पनि कतिपयले नगरेका कारण क्षतिपूर्ति पाउन नसकेका बताए ।
“पटकपटक ताकेता गर्दा पनि ६३० जना मध्ये २१९ केरा किसानले मात्र बीमा गरेका छन्,” उनले भने । गएको जेठ महिनामा जिल्लामा भीषण हावाहुरी आएपछि रु चार करोडको केरा क्षति भएको अनुमान छ । त्यसमध्ये ४० प्रतिशतको हाराहारीमा बीमा नगरेका किसानको क्षति भएको छ ।
यस्तै गत जेठ ३१ गते आएको हावाहुरीले रु एक करोड बढीको ५० हजार केराको बोट क्षति पु¥याएको थियो । करिब १५ देखि २० हजार बोट बीमा नगर्ने किसानको क्षति भएको छ । कहीँबाट राहत नपाउने हुँदा ती किसान आफैँले क्षति बेहोर्नुपर्ने बाध्यता छ । अन्य बीमा भएका किसानको हकमा भने विभिन्न बीमा कम्पनीले क्षतिको विवरण सङ्कलन गरिरहेको केरा व्यवसायी यज्ञ सुवेदी बताउँछन् ।
बीमा गर्ने किसानका लागि क्षतिको ९० प्रतिशतसम्म बीमाबाट रकम आउने गर्छ । कृषि बीमामा सरकारले ७५ प्रतिशत प्रिमियम दिन्छ ।

प्रकाशित मिति: बिहिबार, असार २२, २०७४