शनिबार, बैशाख २२, २०८१

६ करोडको भर्मिकम्पोष्ट मलमा नेता र व्यापारी खुशी !

काठमााडौं, असार १८ । असार २५ गतेभित्र चेक काटिसक्नु पर्दछ जसरी भएपनि नरेन्द्र गिरीको दिव्या अर्गानिक उद्योगको भर्मि कम्पोष्ट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाउनुस् । स्वीट्जरल्याण्डबाट कृषि सचिव डा. सुरोज पोख्रेलले कृषि सामग्रीका एक उच्च अधिकारीलाई फोन गरे । varmi news
यताबाट भनियो, सचिवज्यू समय थोरै छ जिल्लामा मल पु¥याउन सकिंदैन, मलको गुणस्तर परीक्षण नगरी भुक्तानी दिनु मिल्दैन । प्रांगारिक मल रोकिएको छ भर्मि कम्पोष्ट मात्र खरिद गर्न मिल्ला र ? अरु मल के भो थाहा छैन नरेन्द्र गिरीलाई जुनसुकै हालतमा पनि भुक्तानी गर्नु पर्छ माथिबाट निकै दवाव आएको छ । म २९ गते फर्कन्छु त्यो बेला सवै काम भईसक्नु पर्दछ । नरेन्द्र गिरीलाई जसरी पनि उपलब्ध गराउनु पूर्व प्रधानमन्त्री र पूर्व कृषि मन्त्री चौधरीले मलाई चर्को दवाव दिनु भएको छ । कुरो बुझ्नु भो ?
हस सचिवज्यू, यो वार्ता काठमाडौं कृषि सामग्री कम्पनीको भवन र स्वीट्जरल्याण्डमा विश्व स्वास्थ्य संगठनको कार्यक्रममा पुगेका सचिव पोख्रेल वीचको हो । यही वार्तालाई मात्र बुझ्ने हो भने पनि कृषि विकास मन्त्रालयले किसानहरुका लागि मल खरिद गर्दछ कि मल माफियाहरुका लागि भन्ने कुरा प्रष्ट हुन्छ ।
एकै दिन, एउटै आयोजना मार्फत खरिद गर्न लागिएको प्रांगारिक मलको टेण्डर रद्द गरिएको छ भने सोही प्रकृतिको अर्को टेण्डरलाई भने मिलेमतोमा कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग भएको देखिन्छ ।
कृषि सामग्री कम्पनीले खरिद गर्न लागेको भर्मि कम्पोष्ट एमाआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेका नरेन्द्र गिरीको कम्पनीको हो । दिव्या अर्गानिक फर्टिलाइजर चितवनले उत्पादन गरेको भर्मि कम्पोष्ट मल खरिद गर्नका लागि टेण्डर स्वीकृत गरिएको छ । गिरीले आफ्नै नाममा दाङ्गमा रहेको दिव्या अर्गानिक मल र रामकोटको प्रारम्भ अर्गानिकबाट समेत टेण्डर हालेको थिए । दिव्या अर्गानिक फर्टिलाइजर कै नामका दुइवटा कम्पनी कसरी दर्ता भए र ती एकै नामका दुई कम्पनीले कसरी टेण्डर प्रक्रियामा भाग लिए त्यो पनि सोचनीय बनेको छ । २ हजार २ सय मेट्रिक टन भर्मि कम्पोष्ट मल असार २४ गते भित्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जोन, सुपर जोन, व्लक र पकेट क्षेत्रहरुमा पु¥याईसक्नुपर्ने छ । तर अहिलेसम्म कृषि सामग्रीले दिव्या अर्गानिक फर्टिलाईजर कम्पनीसँग सम्झौता नगरिएको अवस्थामा कसरी भर्मि कम्पोष्ट मल जिल्लामा २४ गते भित्र ढुवानी गर्दछ ? जिल्लामा पुगेको भर्मि कम्पोष्ट मलको गुणस्तर कसले परीक्षण गर्दछ ? किसानलाई कृषि उत्पादकत्व बृद्धि गर्नका लागि वितरण गरिने भर्मि कम्पोष्ट मल किन्ने काम मात्र कृषि सामग्रीले गर्न खोजेको यसले प्रष्ट देखिन्छ ।
कृषि सामग्री कम्पनीले २ हजार २ सय मेट्रिक टन भर्मि कम्पोष्ट मल प्रति केजी रु. २६ का दरले खरिद गर्दा ५ करोड ७२ लाख रुपैयाँ दिव्या अर्गानिक फर्टिलाईजरलाई भुक्तानी गर्नु पर्ने हुन्छ । दिव्या अर्गानिकले उत्पादन गरेको भर्मि कम्पोष्ट मल नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्रीको गोदाममा थन्क्याउने हो कि किसानको खेतमा पु¥याउने हो चर्चा र बहशको विषय बनेको छ ।
एउटा व्यवसायीले उत्पादन गरेको कुनै पनि उत्पादन यसरी राज्यले किन्दै जाने हो भने भर्मि कम्पोष्ट मल मात्र किन भोली चौधरी ग्रुपको चाउचाउ सरकारले किनेर स्कूलका विद्यार्थीहरुलाई बाँड्न मिल्छ ? मिल्दैन भने व्यवसायीले व्यापार गर्नका लागि उत्पादन गरेको कुनै पनि आफैले विक्री वितरण गर्नु पर्दछ न कि राज्यको कुनै पनि संस्थालाई दवाव दिएर किन्न वाध्य पार्ने काम कदापी राज्यले स्वीकार गर्नु हुँदैन ।
अहिले किसानलाई अनुदानमा रुपमा वितरण गर्न खरिद गर्न लागिएको भर्मि कम्पोष्ट मल गुणस्तर युक्त रुपमा जिल्लामा पुगेर किसानले पाउँछन् भन्ने ग्यारेण्टी नभईरहेको अवस्थामा दवावमा खरिद गर्नु गलत नजिर बस्ने सक्छ ।

प्रकाशित मिति: आइतवार, असार १८, २०७४