सोमवार, बैशाख १७, २०८१

अनुदान पाएपछि पेसामा फर्किए माछापालक किसान

नुवाकोट, १४ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् ।
जापानी रेन्बो ट्राउट माछापालनमा उत्कृष्ट रहेको नुवाकोटमा यस वर्षदेखि कार्यान्वयमा आएको परियोजनाले मदानपुर, ककनी, ओखरपौवासहित आसपासको क्षेत्रलाई ब्लक छनोट गरेर अनुदान सहयोग उपलब्ध गराएपछि सम्बद्ध किसान पोखरी निर्माणमा जुटेका हुन् ।
विसं २०५५देखि व्यावसायिक रुपमा जिल्लामा ट्राउट माछापालन सुरु हँुदै आएको थियो । २०७२ को विनाशकारी भूकम्पले ठूलो नोक्सान बेहोरेर निराश भएका किसान यस परियोजनाको अनुदान सहयोगले पुनः माछापालनमा फर्किएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक समितिका अध्यक्ष दमन लामाले बताए ।
“ब्लकमा परेको साविकको तीन गाविससहित बेलकोटका किसानले लगानीको आधा रकम अनुदान पाएपछि भूकम्पको विनाशपछि पेसा छाडेका किसानसहित नयाँ किसान समेत थप भएर माछापालन गर्न सुरु गरेका हुन् ।” माछा ब्लकका अध्यक्ष लामाले भने, “ अहिले २५ जना किसान पोखरी निर्माणमा व्यस्त छन् ।”
पोखरी निर्माणमा मात्र एक किसानले कम्तीमा रु ५० लाख लगानी गरेको छ । परियोजनाले माछाको ब्लक निर्माण गर्न नुवाकोटमा रु दुई करोड ६० लाख बजेट छुट्टाएर किसानलाई पोखरी निर्माण, दाना उत्पादन, भुरा व्यवस्थापन एवम् सवारीसाधन खरिदमा आधा भन्दा बढी रकम अनुदान दिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले बताए ।
नुवाकोटबाट काठमाडाँै जोड्ने पासाङ ल्हमु सडक खण्डको आसापासका किसानले ट्राउट माछापालन गरी “ट्राउट हाइवे”को रुपमा सुरु गरेको अवधारणामा भूकम्पले धक्का लागेपनि अव पूर्ववत् अवस्थामा फर्काउन कोसिस गरिएको उनले जानकारी दिए ।
पहाडी डाँडा र भिरालो जमिनमा अन्न तथा तरकारीको उत्पादन नहुने स्थानमा परियोजनाको सहयोगमा किसान पोखरी निर्माण गरी माछापालनमा आकर्षित भएका छन् । पछिल्लो समय मासुको लागि आकर्षित रहेको ट्राउट माछा स्वास्थ्यको लागि समेत हितकर मानिन्छ ।
ट्राउट माछा अहिले बजारमा प्रतिकिलो रु १५ सयमा कारोबार हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार १४, २०७४