बुधबार, बैशाख २६, २०८१

मिलेमतोमा २५ करोडको प्रांगारिक मल खरिद गर्दै

काठमाडौं, असार ११ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि सामग्री कम्पनीका नाममा पूर्व मन्त्री गौरीशंकर चौधरीको दवावमा २५ करोडको प्रांगारिक धूलो मल, भर्मिकम्पोष्ट मल र प्रांगारिक दानादार मल खरिद प्रक्रिया अगाडि बढाइएको छ ।
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, कृषि विकास मन्त्रालयका केही उच्च अधिकारी र स्वयं कृषि सामग्री कम्पनीले समेत नचाहँदा नचाहँदै पनि कृषि सामग्री कम्पनीले २५ करोडको प्रांगारिक मल खरिद गर्न लागेको हो । चालु आर्थिक वर्षको अन्त्यमा आएर प्रांगारिक मल कारखानाका साहुहरुसंगको मिलमतोमा मल खरिद गर्न लागिएको बताएको छ । organic-fertilizer
कृषि सामग्री कम्पनीले किन्न लागेको तीन प्रकारका मलका लागि कृषि सामग्री कम्पनीलाई चर्को दवाव दिइएको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।
श्रोतका अनुसार तात्कालिन कृषि मन्त्री गौरीशंकर चौधरीको दवावमा कृषि सामग्री कम्पनीले एकैदिन तीन वटा सूचना प्रकाशित गरी सूचना नं ०१÷०७३÷७४ मार्फत २ हजार ७ सय मेट्रिक टन प्रांगारिक धूलो मल, सूचना नं ०२÷०७३÷७४ मार्फत २ हजार मेट्रिक टन भर्मिकम्पोष्ट मल र सूचना नं ०३÷०७३÷७४ मार्फत २ हजार ८ सय मेट्रिक टन प्रांगारिक दानादार मल खरिद गर्नका लागि टेण्डर आव्हान समेत गरेको थियो । टेण्डर प्रक्रियामा जाँदा समेत आषाढ २५ गते भित्र उक्त परिणामको प्रांगारिक मल खरिद गरी जिल्ला कृषि विकास कार्यालय मार्फत किसानसम्म पुग्ने अवस्था देखिंदैन ।
आषाढ २५ गते भित्र सक्ने गरी चालु आर्थिक वर्षको २५ करोड रकमान्तर गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत सो मल खरिद गर्नका लागि टेण्डर पनि मिलेमतोमा निकालिएको छ । सो टेण्डरको सम्पूर्ण प्रक्रियाका लागि तात्कालिन कृषि मन्त्री गौरीशंकर चौधरीका अत्यन्तै नजिक मानिएका प्रांगारिक मल उत्पादक संघ सदस्य एवं दिव्या अर्गानिक फर्टिलाइजरका साहु नरेन्द्र गिरीले नै सेटिङ मिलाएका हुन् । उनै गिरीले टेण्डरमा समेत संघका सदस्यहरुलाई टेण्डर फारम किन्न लगाएका हुन् । टेण्डर मार्फत मल खरिद गर्दा खरिद नियमलाई समेत टेकेको जस्तो गर्नका लागि मल नै उत्पादन नगरेका दर्ता मात्र भएका कम्पनीहरुले समेत टेण्डर राख्न लगाएका छन् ।
जस अनुरुप प्रांगारिक धूलो मलका लागि नेप्लिज वेष्ट म्यानेजमेण्ट प्रालि दर्ता लेलेमा भएपनि लेलेमा सो प्रालि नभएको, बुद्ध प्रांगारिक मल उद्योग धनुषा भनिएपनि सो मल उद्योग बन्द अवस्थामा रहेको र बायो कम्प नेपाल प्रालि ललितपुर र नेपाल इन्टिग्रेटेड मोडेल एग्रो फार्म प्रालि उग्रचण्डी नाला(नेपाल सरकारबाट अनुदान लिएको)ले टेण्डर दर्ता गराएका थिए । त्यस्तै भर्मिकम्पोष्ट मलका लायग दिव्या अर्गानिक फर्टिलाइजर चितवन र दिव्या अर्गानिक फर्टिलाइजर वाँके दुवैको साहु नरेन्द्र गिरी नै रहेको समेत श्रोतले बताएको छ । त्यसैगरी तीनवटा टेण्डरका लागि गिरीले नै प्रारम्भ वायोटेक प्रालि रामकोटको नाममा टेण्डर फारम लिएको श्रोतले बताएको छ ।
त्यस्तै २ हजार ८ सय मेट्रिक टन दानादार मलका लागि जनकपुर फर्टिलाइजर मोरङ जसले कृषि विकास मन्त्रालयबाट अनुदान लिएको भएपनि मल उत्पादन नगरेको, नेशनल बायोटेक प्रालि र बुद्ध प्राङारिक मल धनुषा वन्द रहेका उद्योगले मल उत्पादन गरी विक्री गर्नका लागि मिलेमतोमा टेण्डर हालेका छन् ।
गत शुक्रबार टेण्डरको अन्तिम दिन भएपनि समाचार तयार पार्दासम्म मूल्यांकनका लागि खरिद ऐन अनुरुप सार्वजकिन सुचना प्रवाह गरिएको छैन । जुन मल खरिद गरी यही आषाढ २५ गते भित्र जिल्ला कृषि विकास कार्यालयमा मल ढुवानी समेत गरिसक्नु पर्नेछ । सार्वजनिक खरिद ऐन कै आधारमा पनि कृषि सामग्री कम्पनीले प्रांगारिक मल खरिदका लागि प्रकाशन गरेको सूचना, मूल्यांकनका लागि प्रकाशित सूचना र त्यसपछि गरिने कार्यसम्पादन जमानतको म्यादलाई समेत हेर्ने हो भने कुनै पनि हालतमा यो प्रक्रिया केवल चालु आर्थिक वर्षको बजेट सिध्याउने प्रपञ्च बाहेक अरु केही पनि भन्न मिल्ने अवस्थामा देखिंदैन ।
कृषि सामग्री कम्पनीले खरिद गर्न लागेको प्रांगारिक मलको गुणस्तरका लागि १२ देखि १५ प्रकारका परीक्षण गर्नु पर्ने भएता पनि सो मल नाइट्रोजन, फस्फोरस र पोटास परीक्षणका आधारमा मात्र खरिद गर्न लागेको देखिन्छ । जुन प्रक्रिया अत्यन्तै घातक सिद्ध छ । किसान मारा प्रबृत्तिलाई निरुत्साहित गर्ने हो भने अहिले कृषि सामग्री कम्पनीले मिलेमतोमा किन्न लागेको प्रांगारिक मलको खरिद प्रक्रिया रोक्नुको विकल्प छैन । तसर्थ सरोकारवाला निकायले ध्यान दिने कि ? विपी भण्डारी

प्रकाशित मिति: आइतवार, असार ११, २०७४