सोमवार, बैशाख २४, २०८१

निकासी योग्य कृषिवस्तुको सम्भाव्यता अध्ययन

म्याग्दी, चैत्र । वाणिज्य मन्त्रालयले जिल्लामा निकासीयोग्य वस्तुको सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले म्याग्दीबाट निकासीको सम्भावना रहेका वस्तुको तथ्याङ्क सङ्कलन र कृषि उपज उत्पादनको अवस्थाको विषयमा सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
म्याग्दीका साथै मुस्ताङ र पर्वतबाट देशका अन्य जिल्ला र विदेशमा निकासी गर्न सकिने कृषि उपज, फलफूल, तरकारी, जडीबुटी र पशुजन्य वस्तुको विषयमा अध्ययन सुरु गरेको केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले बताएका छन् ।
पहिलो चरणमा केन्द्रका सदस्य दीपेन्द्र श्रेष्ठ, वरिष्ठ अधिकृत आचार्य र कृष्णराज बजगाईंको टोलीले बिहीबार बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा सरोकारवालासँग छलफल गर्नुका साथै तथ्याङ्क सङ्कलन सुरु गरेको छ । सम्भाव्यता अध्ययन गरेर तयार पारिने प्रतिवेदनको आधारमा मन्त्रालयले यस क्षेत्रमा निकासीयोग्य वस्तुको उत्पादन वृद्धि र बजारीकरणसँग सम्बन्धित योजना तथा कार्यक्रम सञ्चालन गर्ने अधिकृत आचार्यले बताए ।
अन्तक्र्रियामा सहभागी कृषक, उद्यमी र सरकारी अधिकारीले जिल्लाबाट सुन्तला, आलु, जडीबुटी, सिमी, टिम्मुर, अर्गानिक तरकारी, अल्लोका कपडा, नेपाली कागज, भेडाबाख्रा र ऊन निकासीको सम्भावना रहेको बताएका छन् ।
वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, सङ्घका पूर्वअध्यक्ष सुदर्शन श्रेष्ठ, कृषि उद्यमी पूर्ण पुन, सागर बानियालगायतले निकासीयोग्य वस्तुको प्रवद्र्धनका लागि ठूलो परिमाणमा उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र, सहज ढुवानी र बजारीकरणको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: आइतवार, चैत्र २७, २०७३