सोमवार, बैशाख २४, २०८१

कास्की र सुनसरीमा बर्डफ्लु चितवनमा उच्च सतर्कता

चितवन,चैत । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।
काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उनले बताए ।
कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताए । दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उनको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।
सेढाईंका अनुसारभित्र छिरेपछि गाडी र मानिसलाई खर्साेलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ ।
त्यसैगरी, खोरको ढोकामा पनि पानीको तलाउ बनाएर खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको उनले बताए । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको छ भने कुखुरा प्रवेश गर्ने र बाहिरिने फरकफरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।
कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको प्रमुख सेढार्इंले बताए । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ ।
राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए । -नारायण अधिकारी

प्रकाशित मिति: आइतवार, चैत्र १३, २०७३