बुधबार, बैशाख २६, २०८१

मानवअधिकार दिवसका दिन तरकारी बजारमा सरकारी ताण्डव नृत्य

काठमाडौ, मंसिर । डिसेम्वर १० तारिखका दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रुपमा भव्य रुपमा मनाउने गरिन्छ । नेपाल सरकारले पनि यसलाई भव्य रुपमा नै सम्पन्न गरेको छ । विहान सवेरै प्रभातफेरि गर्दै शान्ति बाटिका पुगेर मानव अधिकार सुनिश्चित गर्नु पर्दछ भन्ने विदेशी डलरमा रमाउने नेपाली मानव अधिकारवादी संस्थाहरुले नयां बानेश्वरको तरकारी बजारमा मानव अधिकार हनन्को ताण्डव नृत्यलाई देख्नै चाहेनन् ।
राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त अनुपराज शर्माले शान्ति बाटिकामा मानव अधिकार हनन्का घटनालाई न्यूनिकरण गर्ने विश्वास गरिरहंदा बानेश्वर तरकारी बजारमा भने विहान बेलुका हातमुख जोर्नका लागि तरकारी बेचेर जीवन निर्वाह गरिरहेकाहरुमाथि सरकारले मानव अधिकार विरुद्ध ताण्डव नृत्य देखाईरहेको थियो । नागरिक लगानी कोषको जमीन भाडामा लिएर सञ्चालन भएको सो तरकारी बजारको विषय भएको विवादको भोली आइतबार अदालतमा सुनुवाई हुंदैछ । अदालतको फैसला हुनु पूर्व नै जर्वजस्ती रुपमा तरकारी बजारमा सरकारले डोजर लगाएर दुई सय स्टलहरुलाई तहस नहस गरिदिएपछि व्यवसायीहरुले बानेश्वर चोकमा तरकारी फालेर विरोध जनाएका थिए ।
निमुखा जनताले गरिखाईरहेको सो बजारलाई सरकारले व्यवस्थित गर्नुको सट्टा जर्वजस्ती डोजर लगाउंदा पनि न त कृषि सम्वन्धि संघसंस्थाले केही बोलेका छन् । न त मानव अधिकारवादी नत उपभोक्तावादी संघसंस्थाले नै त्यसको विषयमा मुख खोलेका छन् । कृषि क्षेत्रलाई परम्परागत होइन व्यवसायिक बनाउनु पर्दछ भन्ने नारा एकातिर सरकारको छ भने किसानले उत्पादन गरेका कृषि उपजहरुको सहज विक्री वितरण गर्ने बानेश्वर जस्ता बजारहरुमा एका विहानैदेखि डोजर चलाएर पसल कवल ध्वस्त बनाउने क्रान्तिकारी नेतृत्वको सरकारलाई के भन्ने ?

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७३