शनिबार, बैशाख २९, २०८१

किसानले अलैँचीको भाउ नपाउंदा चिन्तामा

गोरखा, मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रूपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् ।
गत वर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारीले बताए । उनका अनुसार – “गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।”
गत वर्ष पूर्वी नेपालको झापा, इलामलगायतका क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएको समेत उनले बताए । भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन घटेको अलैची खेती गरिरहेका किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए ।
गत वर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अङ्गराम दवाडीले बताए । उनले भने – “बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।” गत वर्ष अलैँची प्रतिकिलो रु दुई हजार २५० मा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा एक हजार ५०० मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, मंसिर २०, २०७३