आइतवार, बैशाख २३, २०८१

कृषि मन्त्रालयले सचिव कहिले पाउला ?

काठमाडौं, मंसीर । कृषि प्रधान देशको कृषि विकास मन्त्रालयले विगत दुई दशकदेखिको तथ्यांक हेर्ने हो भने कहिल्यै पनि कुनै पनि बस्तु र बालीमा आत्मनिर्भर हुन सकेको देखिंदैन । छिमेकीको सहारामा खाद्यान्न परिपूर्ति गर्नु पर्ने ६७ प्रतिशतसम्म जनता कृषिमा संलग्न छन् भन्नु पर्ने अवस्था कहिले बन्द होला ? यस्तै प्रश्न कृषिका धेरै ठाउंमा छन् । annapurna-dasआम नेपाली किसानहरुको समस्यालाई सम्वोधन गर्नु पर्ने कृषि विकास मन्त्रालय नै किसानहरुलाई समस्या थप गर्ने सेतुको रुपमा विकसित हुंदै गएको छ । व्यवहारिक रुपमा नै समस्या समाधान गर्ने भन्दा पनि कागजी रुपमा अनुदानबाट नै समस्या समाधान गर्ने काम गर्दै आईरहेको छ भन्ने आरोप कृषि मन्त्रालयले खेप्दै पनि आएको छ ।
अहिले कृषि विकास मन्त्रालय सचिव विहिन अवस्थामा छ । कार्तिक १७ गते कृषि विकास मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर स्वत अवकाश भए । त्यसपछि कृषि विकास मन्त्रालयले अहिलेसम्म सचिव पाउन सकेको छैन । हुन त कृषि विकास मन्त्रालयबाट विभाजन भएको पशुपन्छी विकास मन्त्रालयले नयां सरकार गठन भएको तीन महिना नाघिसक्दा त मन्त्री पाएको छैन भने मन्त्रालयले सचिव नपाउने कुन ठूलो कुरा भयो र ?
कृषि विकास मन्त्रालयमा सचिव रिक्त भएपनि सो रिक्त ठाउंमा क्लष्टर भित्रकै सिनियर सहसचिव ल्याउने चर्चा एकातिर छ भने अर्कोतिर क्लष्टर भित्र कै पशुपन्छी विकास मन्त्रालय, बन मन्त्रालयको सचिवहरुको समेत अवकाश नजिक आईरहेकोले एकै चोटी सचिव नियुक्ति गर्ने चर्चा पनि चल्दै आईरहेको छ ।
यदि तीनवटै मन्त्रालयका एकैचोटी सचिव ल्याउने योजनामा सरकार लागेको हो भने कृषि विकास मन्त्रालयले अर्को तीन महिना सचिव विहिन भएर बस्नु पर्ने हुन्छ । सायद त्यस्तो अवस्था नआउंला । सरकारले वरिष्टताका आधारमा सचिव बनाउने भनेका कारण पनि यतिखेर कृषि विकास मन्त्रालयले सचिवका रुपमा बन मन्त्रालय मातहतको राष्ट्रपति चुरे कार्यक्रमका सदस्य सचिव डा अन्नपूर्णानन्द दास नै कृषि विकास मन्त्रालयका सचिवका दावेदार हुन् । यति हुंदा पनि सरकारले किन कृषि विकास मन्त्रालयमा सचिव चयन गर्न सकिरहेको छैन चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३