शनिबार, बैशाख २२, २०८१

अलैचीको मूल्य घटेपछि किसान चिन्तित

धनकुटा, असोज  । यो वर्षको अलैंचीको उत्पादन सुरु हुन नपाउँदै पूर्वमा अलैंचीको मूल्यमा ठूलो गिरावट आएको छ ।रोग–किराको प्रकोपले समस्यामा परेका कृषक मूल्य घटेपछि थप समस्यामा परेका छन् ।

अलैंची बिक्री गरेरै दसैं–तिहारका लागि खर्चको जोहो गर्नुपर्ने समयमा मूल्यमा आएको उतार–चढावका कारण अलैंची उत्पादक कृषक समस्यामा परेका हुन् । एकातिर रोग–किराको कारण अलैंची बगानै नस्ट हंँदा कृषक समस्यामा परेका छन् भने अर्कोतर्फ अलिअलि भएको उत्पादनले पनि भनेजति मूल्य नपाएपछि कृषकहरु दोहोरो मारमा परेका हुन् ।

गत वर्ष यो सिजनमा प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको भाउ घटेर अहिले प्रतिमन ६० हजार रुपैयाँ भन्दामाथि चढ्न सकेको छैन । विभिन्न रोग–किराको प्रकोपको कारण अलैंचीको बगानै नस्ट हुँदा तथा मूल्यमा आएको उच्च गिरावटका कारण कृषकको चिन्ता चुलिएको हो ।

भारत र पाकिस्तानलगायत मुलुकबाट माग घटेपछि गत वर्षभन्दा करिब ६० प्रतिशतसम्म मूल्य घटेको किसान र व्यवसायीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा ठूला व्यापारीले मिसावटयुक्त अलैंची निकासी गरेका कारण आफूहरुले भनेजस्तो मूल्यमा बिक्री गर्न नपाएको कृषकको गुनासो छ । –कविराज घिमिरे

प्रकाशित मिति: बुधबार, अशोज २६, २०७३