आइतवार, जेष्ठ ६, २०८१

कहिले सुध्रेलान् चार महिनाका सचिव

काठमाडौं, भाद्र । आफ्नो आङ्मा भैसी नदेख्ने अर्काको आङ्मा भने जुम्रा पनि देख्ने भन्ने नेपाली उखान नेपाल सरकारका उच्च पदमा आसिन व्यक्तिको जीवनमा लागू हुन्छ भन्यो भने कसैले नपत्याउन पनि सक्छन् । सत्य तितो हुन्छ र सत्यले जित्छ पनि । तर सत्यलाई नै असत्य सावित गर्न खोज्ने पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल भने आफ्नो जीवनमा माथि उल्लेखित उखानलाई नै चरितार्थ गर्न खोजिरहेको छन् । वन मन्त्रालयमा रहंदा रडाको मच्चाएका यी सचिवलाई वातावरणबाट बनमा सरुवा गर्ने चांजो पांजो गरिरहंदा बन मन्त्रालयका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालयमा गएर दवाव नै दिए । पौडेललाई बन मन्त्रालयमा सरुवा गरे मन्त्रालयको काम ठप्प पार्ने चेतावनी पनि दिए । त्यही भएर होला नयां त्यस बेलाको सरुवामा भर्खरै बनेको नयां मन्त्रालयमा सचिव पौडेल आईपुगे । krishna-Chandra-Paudel
डा. कृष्णचन्द्र पौडेल पशुपन्छी विकास मन्त्रालयमा आएपछि मन्त्रालयमा धेरै आमूल परिवर्तन नै हुन्छ कि भन्ने आशामा रहेको कर्मचारी पछिमात्र निराश बन्न थाले जव सचिव पौडेलले कर्मचारीहरुलाई तुच्छ शब्दले गाली गर्ने र कुनै पनि कामको जस नदिने कामको थाली गरे । लप्सीमा विद्यावारिधी गरेका पौडेल आफूभन्दा मुनि (सहसचिव स्तर) का कर्मचारीलाई समेत वांकी राखेनन् । पशुपन्छी विकास मन्त्रालयमा उनले कमाएको सम्पत्ति नै कर्मचारीहरुलाई गाली गर्ने र जस्तो सुकै कार्यक्रम गरेपनि राम्रो भयो भन्न नजान्ने रह्यो । मुखले एउटा र व्यवहारमा अर्को गर्ने सचिव पौडेलका कारण नै पशुपन्छी विकास मन्त्रालय जुन गति लिनु पर्ने हो त्यो लिन सकेको छैन । पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारी समेत सचिवको निर्देशन मान्नलाई पनि तीन पटक सोचेर मात्र निर्णय लिने अवस्थामा पुगेका छन् ।
आगामी माघ २ गते स्वत अवकाश प्राप्त हुन लागिरहेका पशुपन्छी विकास मन्त्रालयको सचिवको कार्यशैलीबाट मन्त्रालयमात्र होइन मातहतका कार्यालयका कर्मचारीहरु समेत दिक्क भईसकेका छन् । ५८ बर्ष उमेर पुगिसक्दा पनि हुकुमी शासन लाद्न खोज्ने यी सचिव अवकाश हुन लाग्दा पनि उही पुरानै पारामा लागिरहेका छन् । विगतमा सचिव
पौडेलको व्यवहारबाट वाक्क भएका वन मन्त्रालयका एक उच्च अधिकारी घर बस्ने बेलामा पनि सचिव नसुध्रिने भए भन्दै दिक्क मान्न थालेका छन् । अरुलाई गाली गर्न भनेपछि एक कदम अगाडि रहेको यी सचिवको सुध्रिने दिन कहिले आउला ? अवकाश प्राप्त हुने दिन आईपुग्दा पनि नसुध्रिएका सचिव के अवकाश प्राप्त गरेपछि मात्र सुध्रन्छन् ? यसै हप्ता मन्त्रालयमा आयोजित समिक्षा सम्वन्धि कार्यक्रममा उनले मातहतका कार्यालयका प्रमुखहरुलाई सक्दो गाली गर्न भ्याए ? राजनीतिक नियुक्ति पाएका कार्यालय प्रमुखसंग केही बोल्न नसक्ने सचिव पौडेल निजामती सेवामा काम गर्ने कर्मचारीलाई भने उछितो काटे । सो समिक्षा गोष्ठिमा उनले केही कार्यपत्र बाहेक सवैलाई काम नलाग्ने कार्यपत्र भन्दै कर्मचारीलाई हप्काईरहेका थिए । उनको हप्काईले लाग्दथ्यो उनी कुनै निजी कम्पनीका मालिक हुन् र कामदारलाई गाली गरिरहेका छन् । – शोभना कार्की

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७३