मङ्लबार, बैशाख २५, २०८१

पूर्वमा तरकारीको भाउ बढ्यो

मोरङ, १८ श्रावण । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ । तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएको बारी नै डुबानमा परेको छ,” विराटनगर उपमहानगरपालिका– ११ का मोतीराम शर्माले बताए ।
अहिले व्यपारीले पहाडी जिल्लाबाट तरकारी आयात गरिरहेका छन् । भारतबाट आयात गरिएको आलु, प्याज र गोलभेँडाको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।
हप्ता दिनअघि प्रतिकिलो रु ३० मा पाइने आलुको मूल्य अहिले रु ५५ पुगेको छ । यस्तै प्रतिकिलो रु ४० पर्ने गोलभेँडा रु ८०, रु ३० पर्ने काँक्रा रु ६०, रु ४० पर्ने प्याज रु ५५ पुगेको छ ।
यसैगरी प्रतिकिलो रु २० पर्ने बन्दागोभी बढेर रु ४० पुगेको छ भने रु १५ मा पाइने घिरौला अहिले रु २५ पुगेको छ । पहाडी जिल्लामा समेत तरकारी न्यून मात्रामा उत्पादन भएपछि मूल्य आकासिएको हो ।

प्रकाशित मिति: मङ्लबार, साउन १८, २०७३