बुधबार, बैशाख २६, २०८१

आत्मनिर्भर होला नेपाली कृषि क्षेत्र ?

काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि बजेट विनियोजन ताका नै मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तर्जुमा गरेको देखिन्छ । गतबर्ष पनि केही पकेट क्षेत्रको योजना बनाएको भएपनि त्यसले खासै प्रभाव पारेको देखिएन । कृषि क्षेत्रका कुन बाली र कुन क्षेत्रमा उपयुक्त हुन्छ भन्ने कुरालाई ख्याल नै नगरी पकेट क्षेत्र निर्माण गरिएको देखिन्छ । विगतका बर्षमा तयार गरिएका योजना कार्यान्वन भई सफलता हासिल गर्न नसक्नु योजना बनाउंदा दूरदर्शि नभएरै हो कि भन्ने आशंका व्यक्त गर्न सकिन्छ । ministry-of-agriculture
अहिले पनि पकेट क्षेत्र, जोन र सुपर जोनका नाममा योजना बनाइएता पनि ती योजना कार्यान्वयन हुन्छ भन्नेमा पूर्ण विश्वस्त स्वयं योजना निर्माण गर्नेहरु नै छैनन् । मुखले र कागजी रुपमा जे जस्तो तयार गरेपनि स्थलगत रुपमा गर्नु पर्ने काम के हो ? किसानहरुले ती बाली उत्पादन गर्नका लागि कस्ता सेवा पाएका छन् वा त्यस्ता सेवा सुविधा सो क्षेत्रमा छ कि छैन भन्ने कुराको मूल्यांकन गरिएको छैन ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्दछ भन्ने कुरामा कसैको दुइमत नहोला ? दुई दशक अगाडिको कृषि क्षेत्र दुई दशक पछाडि आईपुग्दा कस्तो अवस्थामा आईपुग्यो ? यसको दोष देखाउने भन्दा पनि किन यो अवस्थामा आईयो ? के कति कारणले नेपाली कृषि क्षेत्रको विकास हुन सकेन ? उत्पादकत्व बृद्धि किन गर्न सकिएन भन्ने कुरालाई मनन् गर्नु आवश्यक छ कि ?
कृषि विकास मन्त्रालयका उच्च अधिकारी, योजनाविद्, राष्ट्रिय योजना आयोगका कृषि हेर्ने अधिकारी, अर्थ मन्त्रालयका कृषि हेर्ने उच्च अधिकारीहरुले पनि कार्यक्रम निर्माण गर्दा वा बजेट मूल्यांकन गर्दा यस तर्फ ध्यान दिएको कमै पाईन्छ । हुन त यो दोष दिन खोजिएको होइन । विगतका बर्षहरुमा जे जसरी वैठक बसेर कागजी रुपमा कृषिमा अँत्मनिर्भरत बन्नका लागि खाका तयार गरिए त्यसको प्रतिफल हो भन्दा फरक नपर्ला । वास्तवमा नै भन्ने हो र तितो यथार्थलाई मनन् गर्ने हो भने जवसम्म हरेक राजनीतिक दलका शीर्षस्थ नेताहरु स्वयंले कृषि क्षेत्रको विकास गर्नका लागि प्रतिवद्वता जनाई आफ्नो सरकारी संयन्त्रमा भएका कार्यकर्ता, किसान संगठनहरुमा भएका संयन्त्रहरुलाई समेत सकारात्मक सोचका साथ परिचालन गर्न सक्दैनन् तवसम्म कृषिमा आत्मनिर्भरता भन्ने कुरा कागजी रुपमा मात्र सम्भव होला ?
पछिल्लो समयमा कृषिमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको संख्या र तिनले खर्च गरेको बजेटलाई मात्र मूल्यांकन गर्ने हो भने मुलुक केही बर्ष अगाडि नै कृषिमा आत्मनिर्भर बनिसक्नु पर्दथ्यो । तर, हामी अझै पनि हरेक बस्तु र बालीमा परनिर्भर छौं । यही अवस्थामा नै रहने हो भने अरु धेरै बर्ष हामी परनिर्भर रहने छौं ।

प्रकाशित मिति: मङ्लबार, साउन १८, २०७३