आइतवार, जेष्ठ ६, २०८१

लागत घटाउन घाँसखेती

म्याग्दी, असार । किसानले पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती गर्न थालेका छन् । व्यावसायिक रूपमा गाईभैँसी र बाख्रापालन गरेका किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् । हिउँदे, बर्खे भूइँघाँस, डालेघाँस र बहुबर्षे घाँसखेती विस्तार भएको छ । घाँसबाट आहार आपूर्ति गराउँदा पशुजन्य उत्पादनको लागत घटाउन सकिने पशु विज्ञहरुको भनाई रहेको छ । दानाको खपत कम गरी घाँसको आहार आपूर्ति गराउन सकेमा मासु, दूधलगायत पशुजन्य उत्पादनको लागत घट्ने र किसानलाई फाइदा उनीहरु बताउंछन् । नेपियर, मलाटो, सेटेरिया, राईखन्यु, इपिलइपील, बडहर, टाँकी, किम्बू, निमारोलगायत प्रजातीका घाँस व्यावसायिक पशुपालकका लागि उपयोगी देखिएको छ ।
यसैगरी केही किसानले जैघाँसको पनि खेती गरेका छन् । दानामा आधारित आहारलाई कटौती गरी घाँसमा आधारित आहारलाई प्रर्वद्धन गर्न जिल्ला पशुसेवा कार्यालय, भू–संरक्षण कार्यालय, वन कार्यालयलगायत विभिन्न सङ्घ संस्थाले निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएका छन् ।
उत्पादन लागत घटाउन र पशुजन्य उत्पादनको गुणस्तर वृद्धीका लागि घाँसखेती विस्तारलाई जोड दिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाइँले बताए । पशुसेवा कार्यालयले निःशुल्क रूपमा घाँसका बिरुवा वितरण गर्न सुरु गरेको छ । यस वर्ष करिब ६० हजार घाँसका बिरुवा वितरण गरिने बताइएको छ ।

प्रकाशित मिति: आइतवार, असार १२, २०७३