सोमवार, जेष्ठ ७, २०८१

सिँचाइ गर्न खेतमै सुत्छन् डोल्पाली

डोल्पा, २ असार । खडेरीका कारण खोलामा पानीको मात्रा घट्दै गएपछि सिँचाइ गर्न डोल्पाली राति खेतमै सुत्न थालेका छन् । पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । दिउँसो सबैले एकै पटकमा सिँचाइ गर्न सम्भव नभएपछि किसान रातिमा सिँचाइ गर्नकै निम्ति खेतमै सुत्नु परेको त्रिपुराकोटका हरि विष्ट बताउँछन् । सिँचाइ गर्न अधिकांश किसान खेतबारीमा दिउँसो जाने भएकाले पानीका लागि झगडा हुने गरेको छ ।
“सहज हुने भएकाले राति ११ बजेपछि सिँचाइ गर्न खेतमा जान्छौँ, पालैपालो खेतमै सुत्ने गरेका छौँ,” उनले भने । त्रिपुराकोटका त्रिपुराकोट, गल्ली, रल्ली र बगरमा सिँचाइ गर्न स्थानीयले नजिकैैको खोलाको पानी प्रयोग गर्दै आएका छन् । तर खडेरीका कारण उक्त खोलाको पानी समेत सुक्दै गएपछि किसान चिन्तित बनेका छन् ।
“सबैलाई सिँचाइ गर्न पानी पुग्दैन्, दिनहुँ झगडा हुन्छ,” त्रिपुराकोटका दिलीप गिरीले बताए । खोलानाला सुकेपछि पिउने पानीको समेत समस्या भएको छ । स्थानीयबीच सिँचाइका लागि दैनिक किचलो हुने गरेको छ । पानिकै कारण स्थानीयको एकआपसमा सम्बन्ध समेत बिग्रँदै गएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७३