शनिबार, बैशाख २२, २०८१

सरकारी रकममा जापान र इजरायल भ्रमणको तयारी

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका कार्यकारी निर्देशक सहित समितिका सदस्यहरुको जम्बो टोली करोडौं सरकारी बजेट स्वाहा गर्नका लागि इजरायल र जापान जाने तयारीमा हतारिएका छन् । तरकारी बजारलाई व्यवस्थित गर्ने, किसानहरुलाई कृषि उपजको उचित मूल्य उपलब्ध होस् भन्नेका लागि सरकारी स्तरबाट स्थापना गरिएको सो समितिका एक दर्जन भन्दा बढी व्यक्तिहरु देश बाँडफाँड गर्दै जापान र इजरायल जान कस्सिएका छन् । बजारलाई व्यवस्थित गर्ने जिम्मेवारी विकेका पदाधिकारीहरु बजारलाई अलपत्र पार्दे जापान र इजरायल भ्रमणको तयारीका लागि मन्त्रालय धाउन थालेको बताइएको छ । kalimati
जापान र इजरायल भ्रमणको विना उपलब्धी आर्थिक बर्षको अन्त्यमा बजेट सिध्याउने किसिमले गर्न लागिएको सो भ्रमण रोक्नका लागि कालीमाटी तरकारी बजार कै केही सदस्य लागि परेका छन् भने कार्यकारी निर्देशक सहितका केही व्यक्ति भने शक्ति केन्द्र धाएर भएपनि मन्त्रालयबाट सो भ्रमण स्वीकृत गराउने तयारीमा जुटेका छन् ।
किसानहरुले उचित मूल्य पाउन नसकिरहेको अवस्थामा कालिमाटी तरकारी तथा फलफूल बजार समितिले त्यसको समन्वय गर्नुको सट्टा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै इजरायल र जापान जाने चटारोमा लाग्नु मामाको धन फुपुको श्राद्ध उखानलाई चरितार्थ गर्ने भन्दा अरु केही हुन सक्ने देखिंदैन ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७३