बिहिबार, बैशाख २०, २०८१

उखु किसानले भुक्तानी पाएनन्

कञ्चनपुर, ४ जेठ । हरेक बर्ष उखु उत्पादक किसानहरुले उखु विक्री गरेको भुक्तानी प्राप्त गर्नका लागि आन्दोलन गर्नु पर्ने अवस्थाको श्रृजना हुनु दुखद् भएको किसानहरुले बताउंदै आईरहेका छन् । अहिले फेरि कञ्चनपुरका उखु किसानहरुले उखु बिक्री गरेको लामो समय भइसक्दा पनि भुक्तानी पाउन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाकाली चिनी मिलमा उखु बिक्री गर्दै आएका किसानले अझैसम्म पनि भुक्तानी पाउन सकेका छैनन् । महाकाली चिनी मिलले पुसदेखि यता खरिद गरेको उखुको रकम भुक्तानी नपाउँदा उखु किसान मारमा परेका छन् । अन्य क्षेत्रमा सरकारी दर अनुसार किसानले मूल्य पाए पनि यहाँ भने प्रति क्विन्टल रु ३८५ देखि ४०१ मा उखु बिक्री गरेका थिए । चिनी मिलसँग पटक÷पटक पैसा माग्दासमेत बहाना देखाएर पैसा दिन आलटाल गरेको किसानले गुनासो गरेका छन् ।
उखु बिक्रीको भुक्तानी समयमै नपाउँदा आउँदो उखुखेती समेत प्रभावित हुने देखिएको किसानले बताएका छन् । अहिले उखुखेतीका लागि अधिकांश किसानले साहुबाट ऋण लिएर खेती गरिरहेका छन् । पुनर्वास, बेलौरी र बेल्डाँडीका ९० प्रतिशत किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ४, २०७३