शनिबार, जेष्ठ ५, २०८१

दशबर्षदेखि सिँचाइ सुविधाको अभाव

इलाम, १ बैशाख । इलामको चुलाचुली गाविसमा रहेको रतुवा खोलामा विसं २०५३ मा निर्मित रतुवाखोला सिँचाइ आयोजनाको बाँध भत्किएपछि विगत एक दशकयता गाउँलेले सिँचाइ सुविधा पाउन सकेका छैनन् । विसं २०६० सम्म सिँचाइ योजनामा पानी सञ्चालन भए पनि रतुवा खोलामा ढुङ्गा, गिट्टी, बालुवा झिक्ने कार्यले उक्त सिँचाइ आयोजनाको बाँध भत्किएको हो । खोलाको सतह दुई मिटर तल झरेपछि सिँचाइ योजनाको बाँध भत्किएको र गाउँको खेतीयोग्य जमिन बाँझो भएको उक्त सिँचाइ योजनाका अध्यक्ष चन्द्रकुमार थापाले बताएका छन् । ratuwa khola
सिँचाइ आयोजनाको बाँध भत्किएपछि योजनामा पानी सञ्चालन नहुँदा चुलाचुली–८ र ७ का पूरै खेतीयोग्य जमिन बाँझै रहेका छन् । करिब रु पाँच करोडमा सम्पन्न सिँचाइ योजना सञ्चालन हुँदा हिउँदमा समेत हरियो मकै फलाएर बेच्ने किसान हाल सिमल तरूल रोप्न बाध्य भएका छन् । चुलाचुलीवासीको आग्रहअनुसार सिँचाइ विकास डिभिजन कार्यालय इलामले यो वर्ष करिब रु २१ करोड बराबरको योजना सञ्चालन गर्न सहमति जनाएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १, २०७३