आइतवार, जेष्ठ ६, २०८१

कृषिलाई व्यावसायिक बनाउन जोड

बारा, १८ चैत । कृषि क्षेत्रलाई देश विकासको सशक्त मेरुदण्डका रूपमा विकास गर्नका लागि कृषि अनुसन्धान कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा कृषि वैज्ञानिक तथा प्राविधिकले जोड दिएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका कार्यालयहरूको मध्यमाञ्चलस्तरीय दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा उनीहरूले जलवायु परिवर्तन भइरहेको अहिलेको अवस्थामा पनि कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कृषि अनुसन्धानमा विशेष प्राथमिकता दिनु जरुरी रहेको औल्याएका छन् ।
उनीहरूले पर्याप्त बजेट र आवश्यकताअनुसार विशेषज्ञ तथा प्राविधिक जनशक्तिको पदपूर्ति नहुदाँ कृषि तथा पशुपक्षीको अनुसन्धान कामकारबाही प्रभावित भइरहेकामा पनि जोड दिए । सो अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् पशु तथा मत्स्य अनुसन्धान कार्यक्रमका निर्देशक डा सीताराम अर्यालले अन्तर्राष्ट्रियस्तरमा परिवर्तित प्रविधिअनुसार नेपाली किसानलाई पनि प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै परम्परागत कृषिलाई व्यावसायिक बनाउन कृषिका लागि क्षमता अभिवृद्धि गर्ने कार्यमा सम्बन्धित कृषि वैज्ञानिक तथा प्राविधिकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति: बिहिबार, चैत्र १८, २०७२