आइतवार, जेष्ठ ६, २०८१

कृषक परिचय पत्र वितरणमा कोटा प्रणाली रोक्न आग्रह

चितवन । किसानहरुलाई उपलब्ध गराउने भनिएको किसान परिचय पत्र वितरण कार्यालाई सहज र पारदर्शि बनाउनु पर्ने भन्दै ११ बुंदे माग पत्र सहित राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषि समाज, नेपाल चितवन शाखाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । dhayanakarsan
चितवन जिल्लामा तीनसय भन्दा बढी किसानहरुले व्यावसायिक रुपमा पशुपालन मार्फत अर्वौ रुपैयां गरी दैनिक लाखौ लिटर दूध उत्पादन गरिरहेको ध्यानाकर्षणमा उल्लेख गरिएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयले किसान परिचय पत्र वितरण कार्यविधि तथा यसका कार्यान्वय पद्दतीहरु किसानहरुलाई व्यवहारिक रुपमा सहज र सरल नभएकाले त्यसलाई सहज बनाउने व्यवस्थाका मिलाउनका लागि पनि ज्ञापन पत्र मार्फत आग्रह गरेका छन् ।
परिचय पत्र वितरण सम्वन्धि सूचनाको किसानको पहुंचमा नपुगेको, निवेदन पेश गर्ने म्याद एक महिनाका लागि थप गर्नु पर्ने, कृषक परिचय पत्रलाई ७ हजारको कोटा निर्धारण हटाई वास्तविक किसान सवैलाई वितरण गर्नु पर्ने, कृषक परिचय पत्रको सिफारिसको लागि नगरपालिका वा गाविसबाटै व्यवस्था गर्नु पर्ने एवं सिफारिस निशुल्क हुनु पर्ने, जिल्लाको परिचय पत्र वितरण समितिमा पशुपालन तथा दूध उत्पादन गर्ने किसानहरुको प्रतिनिधित्व हुनु पर्ने, घरदैलोको माध्यमबाट अनुगमन गरी किसान परिचय पत्र वितरण गरिनु पर्ने, उत्पादनकर्ता किसानलाई मात्र परिचयपत्र उपलब्ध गराउनु पर्ने र कृषि उत्पादनलाई करमुक्त क्षेत्र घोषणा गरेपनि घुमाउरो पाराले कर असुली गरेको र कृषक परिचय–पत्रको लागि पनि कर तिरेर मात्र आवश्यक कागजपत्र उपलव्ध गराईने प्रावधानले दोहोरो चरित्र देखाइएकोले त्यसलाई तत्काल सच्चाउनु पर्ने माग समेत किसानहरुले गरेका छन् ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषि समाज, नेपाल चितवन शाखाका अध्यक्ष कृष्णराज भण्डारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई ज्ञापन पत्र मार्फत किसान परिचय पत्र वितरणमा देखिएको अन्यौलताका बारेमा ध्यानाकर्षण गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले व्यावसायिक रुपमा कृषि उपज उत्पादन बृद्धि एवं दूध उत्पादन बृद्धि गर्नका लागि प्रतिवद्ध भएर लागिरहेका बास्तविक किसानहरुलाई मात्र कृषक परिचय पत्र वितरण गरिनेमा ढुक्क हुन आग्रह गरेका थिए । समाजका उपाध्यक्ष विष्णु अधिकारी, सचिव इन्द्रमणि गैरे, सदस्य विदुर लामिछानेले दुग्ध उत्पादन गर्ने किसानहरुको समस्यालाई समाधान गर्नका लागि सरोकारवाला निकायले ध्यान दिन नसकेको भन्दै त्यसका लागि पनि पहल गरिदिन आग्रह गरेका थिए ।
कृषक परिचय पत्र वितरणमा गैर कृषकहरु नपरुन् र वास्तविक कृषकहरु नछुटुन् भन्ने सोचले कोटा प्रणाली भन्दा पनि वास्तविक किसान पहिचान गरी परिचय पत्र वितरण गर्नका लागि दवाव स्वरुप आफूहरुले ज्ञापन पत्र उपलब्ध गराएको अध्यक्ष कृष्णराज भण्डारीले कृषिसंगको कुराकानीमा बताए ।

प्रकाशित मिति: शनिबार, चैत्र २०, २०७२