बिहिबार, बैशाख २७, २०८१

उत्पादकत्व वृद्धि गर्न भकारो सुधार

 म्याग्दी, २० माघ । रासायनिक मलको प्रयोग बढ्न थालेपछि जिल्लामा भकारो सुधार कार्यक्रम सुरु भएको छ ।

रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले दुई वर्षेदेखि भकारो सुधार कार्यक्रम सुरु गरिएको हो । कृषि विकास विभागअन्तर्गत माटो विकास निर्देशनालयको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सिङ्गा, बराङ्जा, ताकम, पिप्ले र घतान गाविसमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

आव २०७०÷७१ देखि सञ्चालित सो कार्यक्रमबाट हालसम्म जिल्लामा ४३६ वटा भकारा सुधार भएका छन् । रासायनिक मल महँगो हुने र विषादिले स्वास्थ्यमा असर गर्ने भएकाले उत्पादनलाई स्वस्थ्यकर बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालको भनाइ छ ।

जिल्लाको सिङ्गामा १२५, बराङ्जामा १११, ताकममा १००, पिप्लेमा ७० र बेनी नगरपालिका ९ र १० वडामा ३० वटा भकाराको सुधार गरिएको छ । सोमध्ये अभियानमुखी भकारा २३० र कृषिप्रसार कार्यक्रमतर्फ ८० भकारा तथा अन्य कृषक स्वयम्ले भकारो सुधार गरेका छन् । भकारोलाई व्यवस्थित बनाई जमिनमा खाडलको निर्माण गरी मत्रमूत्रलाई बाहिर बग्न नदिनका लागि सिमेन्ट तथा बालुवाले प्लास्टर गर्ने वा ठूलो ड्रम राखिएको छ । भकारोलाई घामपानीको असरबाट जोगाउन कृषकले छाप्रोसमेत बनाएका छन् । एउटा भकारो सुधारका लागि प्रतिकिसान रु पाँचहजार २०० सहयोग गरेको कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो ।

भकारो सुधार गरी कुहाएर मलमा भएको खाद्यतत्व जोगाइ सुरक्षितसाथ बालीमा प्रयोग गर्दा अन्य मलले भन्दा कम्पोस्टको प्रयोगले उत्पादन राम्रो दिने र दिगो हुने योजना अधिकृत ज्योति क्षेत्रीले बताइन् । खेतबारीमा नाइट्रोजन, फस्फोरस र कम्पोस्ट मलको सन्तुलन मिलाएर प्रयोग गर्नुपर्नेमा हाल त्यसो नगर्दा माटोको उर्वराशक्ति नै घटेर गएको उहाँको भनाइ छ ।

एक रोपनी जग्गामा सामान्यतया हरेक खेतीका लागि पाँच किलो युरिया, चार किलो गेडेमल, तीन किलो पोटास तथा ४० डोकोसम्म गाईभैँंसीको मल छरेमा बाली राम्रो हुने बताइएको छ । युरिया मात्रै प्रयोग गरी छिटो उत्पादन खोज्दा माटोमा अम्लीयपन बढेर उत्पादन घट्ने र बिरुवासमेत नउम्रने हुन्छ । जिल्लाको कुल २२ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३० हजार ८५६ हेक्टर मात्र खेतीयोग्य जमिन रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २०, २०७२