शनिबार, बैशाख १५, २०८१

‘यान्त्रिक हलो’प्रति किसानको आकर्षण बढ्दो

पर्वत, १ मंसीर। केही वर्ष अघिसम्म प्रत्येक घरमा हलगोरु पाल्ने चलन थियो । कतिपय कृषक एक/एक वटा गोरु पालेका दुई जना मिलेर परेली गर्ने, अर्मपर्म गरेर खेतबारी जोत्ने र बालीनालीसँगै लगाउने पनि गर्दथे ।
पछिल्लो समय कृषिमा आधुनिक उपकरण भित्रिएसँगै यस्तो खालको परम्परा बिस्तारै हट्न थालेको छ । गोरु पाल्ने झण्झटलाई आधुनिक उपकरणले विस्थापित गर्न थालेपछि अहिले गाउँघरतर्फ खेतबारी जोत्ने गोरुसमेत लोप हुन थालेका छन् । पछिल्लो समयमा ‘मिनि पावर टेलर’ अर्थात् यान्त्रिक हलो भित्रिएपछि गोरु पाल्ने झण्झटबाट कृषकले मुक्ति पाएका हुन् । power treler
जिल्ला कृषि विकास कार्यालयले निश्चित प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गर्न थालेपछि अहिले जिल्लाका कृषकको आकर्षण त्यसतर्फ बढ्न थालेको छ । एकै दिनमा धेरै जमिन जोत्न सकिने र वर्षभरी गोरुको पालनपोषण गर्ने झण्झटसमेत नहुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको हो । विगत चार वर्षदेखि जिल्लामा यान्त्रिक हलो भित्रिएपनि गत वर्षदेखि यसतर्फ कृषकको आकर्षण बढेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।
“यान्त्रिक हलोको माग गर्दै कार्यालयमा सयौँ कृषकले निवेदन दिएका छन्” उनले भने  । चालु आवमा कृषि विकास कार्यालयले २२ स्थानमा रु सात लाख मूल्यका यान्त्रिक हलो वितरण गरेको छ । गत वर्ष ३५ वटा वितरण गरेको थियो । प्रतियान्त्रिक हलोको मूल्य रु ५५ हजार देखि रु ७० हजारसम्म पर्छ । कृषि कार्यालयले ३० प्रतिशत अनुदान तथा ढुवानी निःशुल्क दिँदै आएको छ ।
अहिले व्यावसायिक रुपमा तरकारी तथा  फलफूल  खेती गर्ने र कृषि उपजको बढी सम्भावना भएका क्षेत्रलाई प्राथमिकता दिएर वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्लामा १०० को सङ्ख्यामा यान्त्रिक हलो वितरण गरिएका छन् । थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषकले यान्त्रिक हलो भित्र्याउन थालेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले समूह निर्माण गरेर आएमा ५० प्रतिशतसम्म अनुदानमा यान्त्रिक हलो वितरण गर्ने जनाएको छ । एक हल गोरुको स्थानीय बजारमा रु ३० हजारदेखि रु ४५ हजारसम्म मूल्य पर्छ । पेट्रोल र डिजेल दुबै इन्धनबाट चल्ने भएपनि कृषक डिजेलबाट चल्ने हलोप्रति बढी आकर्षित छन् । अहिले बजारमा विभिन्न कम्पनीका पाँचदेखि १२ हर्ज पावरसम्मका यान्त्रिक हलो बिक्री भइरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १, २०७२