शनिबार, बैशाख ८, २०८१

इन्धन अभावका कारण कृषकले गहुँ छर्न पाएनन्

भक्तपुर, कात्तिक । इन्धन अभावका कारण यसवर्ष भक्तपुरका किसानलाई तरकारी उत्पादन र गहँु रोप्न समस्या भएको छ । धान काटेलगत्तै चिसो खेतमा गहुँ छर्दा सहजै उम्रने र उत्पादन बढ्ने भए पनि इन्धन अभावका कारण यसवर्ष भक्तपुरका किसानलाई गहुँ छर्न नै समस्या परेको हो । एकातिर गहुँ छर्नका लागि आवश्यक पर्ने रासायनिक मलको चरम अभाव अर्कोतर्फ खेत खन्नका लागि प्रयोग हुने ट्र्याक्टर चलाउन नपाएपछि किसानलाई खेती गर्न नै समस्या परेको हो । wheat
भक्तपुर सूर्यविनायक नगरपालिका सिपाडोलका राधेश्याम कासिछ्वाले खेत खन्नका लागि मजदुर पाउन नसकेको गुनासो गरे । “यसवर्ष इन्धन अभाव भएपछि ट्र्याक्टर नचल्दा अधिकांश खेत बाँझै छन्” उनले भने । गहुँ छर्ने बेलामा नै रासायनिक मल पनि सँगै हाल्ने गरे पनि यसवर्ष भारतको नाकाबन्दीकै कारण मलसमेत आयात नभएपछि थप समस्या बेहोर्नुपरेको हो ।
विगतका वर्षमा यतिखेर दुई महिनासम्म ट्र्याक्टर चालकलाई खेत जोत्न भ्याइनभ्याई हुने गरे पनि यसवर्ष भने निकै फुर्सदिला भएका छन् । दुई महिना ट्र्याक्टरले खेत खनेकै भरमा छ महिना परिवार पाल्न पुग्ने आम्दामी हुने गरेकामा यसवर्ष भने आम्दानीसमेत नभएपछि ट्र्याक्टर मजदूरलाई समेत परिवार पाल्न समस्या परेको छ ।
अनन्तलिङ्गेश्वर नगरपालिका– ६ सिरुटारका ट्र्याक्टर सञ्चालक मोहन श्रेष्ठ भन्छन् – “दसैँपछि मङ्सिरसम्म नै ट्र्याक्टरबाट खेत खन्न भ्याइनभ्याई हुन्थ्यो, आम्दानी पनि राम्रै हुन्थ्यो, यसवर्ष इन्धन नपाएपछि दुई साताभन्दा बढी ट्र्याक्टर चलाउन पाइएन, समस्या निकै नै छ ।”
प्रमुख जिल्ला अधिकारी तोयम रायाले तिहारअघि भक्तपुरका किसानले खेत खन्ने ट्र्याक्टर सञ्चालनका लागि इन्धनको व्यवस्था गर्न माग गर्दै पटकपटक आउने गरेका बताए ।
जिल्ला कृषि विकास कार्यालयले यसवर्ष ८० प्रतिशत खेत बाँझै भएको जानकारी दिएको छ । रासायनिक मलको व्यवस्था गरिदिन माग गर्दै किसान कृषि विकास कार्यालयमा आउने गरे पनि केही व्यवस्था गर्न नसकेको कार्यालयले जनाएको छ । रमेश गिरी

प्रकाशित मिति: सोमवार, कार्तिक ३०, २०७२