शनिबार, बैशाख २९, २०८१

कृषि क्षेत्रमा बैंकहरूको ६५ अर्ब लगानी

काठमाडौं, २७ असोज – बैंक तथा वित्तीय संस्थाको कृषि ऋण २८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७०÷७१ मा बैंकहरुले यो क्षेत्रमा ५० अर्ब ९० करोड रुपैयाँ लगानी गरेकोमा आव ०७१/७२ मा बढेर ६५ अर्ब १५ करोड लगानी गरेका छन् ।
उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नीति र व्यावसायिक कृषिमा सर्वसाधारणको आकर्षण बढेकाले लगानी बढेको हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरुले कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेकाले यो क्षेत्रमा कर्जा लगानी बढेको हो । बैंकहरुले कुल लगानीको १२ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यसका लागि बैंकहरुले कृषि कर्जा विस्तार गर्दै लगेका छन् । यसैगरी सरकारले बजेटमार्फत घोषणा गरी कृषि ऋण ६ प्रतिशतमा उपलब्ध गराउँदै आएको छ ।
“व्यावसायिक कृषिमा सर्वसाधारणको आकर्षण र सीमा निर्धारणले कृषि क्षेत्रमा बैंकहरुको कर्जा बढ्दै गएको हो,” राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने, “तर अझै यो पर्याप्त भने होइन ।”
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार बैंकहरुले लगानी गरेका क्षेत्रहरुमध्ये सबैभन्दा धेरै वृद्विदर पनि कृषि क्षेत्रको छ । बैंकहरुको कर्जा उत्पादन उद्योगमा १४.८, निर्माणमा २७.९, फलामजन्य उद्योगमा १५, यातायातका सामानमा २.८, यातायात÷सञ्चारमा २७ होलसेल/खुद्रा व्यवसायमा २१.८, फाइनान्स÷इस्योरेन्समा १८.३, सेवा उद्योगमा २३.३, उपभोग ११.७ र अन्य कर्जा २०.४ प्रतिशत कर्जा भएको छ ।
यसैगरी कृषि क्षेत्रमध्ये सबैभन्दा बढी पशुपालनमा छ । गत आर्थिक वर्षसम्ममा पशुपालनमा बैंकहरुको लगानी ३४ प्रतिशतले वृद्धि भई २० अर्ब ७३ करोड रुपैयाँ लगानी भएको छ । गत आवको यसै अवधिमा भने १५ अर्ब ४४ करोडमात्र लगानी थियो । समग्रमा गत आवसम्ममा बैंकहरुको कर्जा लगानी २० प्रतिशतले वृद्वि भई १३ खर्ब ६२ अर्ब ८ करोड कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २७, २०७२