शनिबार, बैशाख १५, २०८१

भेडा च्याँङ्ग्राको मूल्य बढ्दा समस्या

मुगु, १८ असोज । नेपालीका महान् चाड दसैँ, तिहार र छठ पर्व नजिकिरहँदा यसपालि मुगुमा चिनियाँ खसी नआउने भएको छ ।
विगतका वर्षमा स्थानीय खसीभन्दा सस्तोमा पाइँदा नेपाली उपभोक्ता चिनियाँ खसीतिर आकर्षित हुने गरेका भए पनि यसपटक मूल्य बढ्दा व्यापारी मर्कामा परेका छन् । गत वर्षमा प्रतिचिनियाँ खसी तिब्बतमा चिनियाँ रुपैयाँमा न्यूनतम ६०० देखि अधिकतम ९०० सुकुरमा खरिद हुन्थ्यो तर अहिले चीनमै प्रतिखसी ८०० देखि एक हजार २०० सुकुरमा बिक्री हुन थालेका छन् ।
महँगोमा खसी ल्याएर घाटा व्यहोर्नुभन्दा गाउँघरबाट स्थानीय खसी किनेर यो वर्षको चाडपर्वमा व्यापार गर्ने सोच राखेको खसी व्यापारी कुन्जोक लामा बताउँछन् । “नेपाली व्यापारीले बर्सेनि चिनियाँ खसी ल्याउनका लागि साउनमा लाग्ने हाटका बेला चिनियाँ व्यापारीलाई अग्रिम भुक्तानी गर्ने गरेका थिए” उहाँले भन्नुभयो–“यो वर्ष मूल्य बढेकाले नेपाली व्यापारीले अग्रिम भुक्तानी दिएका छैनन् ।”
मुगाली व्यापारी ५० हजारभन्दा बढी सङ्ख्यामा चिनियाँ खसी ल्याएर मुगुका अलावा जुम्ला, बाजुरा, कालीकोट, डोल्पा, मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी र कास्कीसम्म पुगेर व्यापार गर्ने गरेका थिए ।
चिनियाँ भेडा च्याङ्ग्रा नआउने भएपछि अहिले स्थानीय भेडा व्यापारी खुसी देखिन्छन् । स्थानीय भेडा व्यापारी रुगा–८ बामका रतन बढुवाल भन्छन्, “चिनियाँ भेडा आउँदा हाम्रा भेडाको वास्ता हुँदैनथ्यो अब हाम्रा भेडा खसीको माग बढेको छ ।”

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७२