बुधबार, बैशाख २६, २०८१

चिज बिक्री नहुँदा कृषक निराश

म्याग्दी, २० भाद्र । म्याग्दीको घारका कृषक उत्पादित चिज बिक्री नहुँदा समस्यामा परेका छन् । गत वैशाखको भूकम्पका कारण पर्यटक आगमन घटेपछि घार– ५ स्थित हिमालयन चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको सयौँ किलो चिज बिक्री हुन सकेको छैन । उत्पादित चिज बिक्री नहुँदा कृषकले उत्पादन गरेको दूध खरिद गर्न र भुक्तानी दिन नसकेको संस्थाका सचिव श्याम खड्काले बताएका छन् ।
उद्योगमा अहिले एक हजार दुई सय किलो चिज बिक्री हुन नसकेर मौज्दात रहेको छ । “चिज बिक्री नहुँदा उत्पादन घटाएका छौँ” सचिव खड्काले भने – “कृषकले उत्पादन गरेको सबै दूध खपत पनि हुन सकेको छैन । दूध खरिद गरेबापत भुक्तानी गर्न समस्या भएको छ ।”
यो मौसममा दैनिक दुई सय लिटर दूध उत्पादन भए पनि एक सय लिटरको हाराहारीमा उद्योगले खरिद गरेको छ । दूध खपत घटेपछि घाटा भएको कृषक शुकराम खड्काले बताए ।
“उत्पादन भएकोमध्ये आधामात्रै दूध उद्योगलाई बेच्न सकेका छौँ” उनले भने – “अन्यत्र दूध निकास गर्न बजार टाढा र भौगोलिक विकटताका कारणले सकिएको छैन ।” यसअघि दैनिक २० किलो चिज उत्पादन गरेको उद्योगले अहिले उत्पादन आधा घटाएको छ ।
विसं २०७१ वैशाखमा कृषकले स्थापना गरेको उद्योगले पहिलो वर्ष रु ३४ लाखबराबरको चिजको कारोबार गरेको थियो । त्यहाँ उत्पादित चिज पोखरा, घोरेपानी, घान्द्रुक, भुरुङ तातोपानी, बेनीलगायतका पर्यटकीयस्थलमा खपत हुने गरेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २०, २०७२