शनिबार, बैशाख १५, २०८१

भूकम्प पीडित किसानको सेवामा सक्रिय छौं

Dr-Premi

 डा.केशवप्रसाद प्रेमी

महानिर्देशक पशु विभाग

 

० महाभूकम्प पछि पशु सेवामा अत्यधिक प्रभाव परेको सुनिन्छ नि ?
पक्कै पनि महाभूकम्पले पशु सेवा अछुतो रहन सकेको छैन । यो विनासकारी महाभूकम्पले पशु सेवा तर्फ पनि ठूला मात्रामा क्षति तुल्याएको छ । मानवीय क्षति कै हाराहारीमा ठूला पशुहरु हताहत भएकाछन् । गाईभैसी मात्र १२ हजार भन्दा बढी मरेका छन् । पंन्छीजन्य क्षेत्रमा मृत्युको संख्या अत्यधिक धेरै नै रहेको छ । हजारौंका संख्यामा भेंडा, बाख्रा मरेका छन् भने लाखौंको संख्यामा कुखुरा लगायतका पन्छीहरु विनासकारी भूकम्पबाट मरेका छन् । त्यस्तै गाईगोठहरु पनि धेरै नै पूर्ण रुपमा क्षति बनेका छन् ।
० राहत वितरण कार्यमा तपाईहरुको भूमिका कस्तो रह्यो त ?
राहत वितरण कार्यमा पशु सेवा विभाग र मातहतका कार्यालयहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो । सर्वप्रथम घाइते भएका पशुहरुको उपचार र जिवित पशुहरुलाई आवश्यक पर्ने पशु आहार उपलब्ध गराउने काममा शुरुका दिनमा बढी सक्रिय रह्यो । राहत वितरण कार्यमा नेपाल सरकार, कृषि विकास मन्त्रालयले तोके बमोजिमको निर्देशनमा जिल्ला दैवि प्रको उद्धार समिसिसँग रहेर काम गरेका हौं । त्यत्तिमात्र होइन हामीले पशु स्वास्थ्य निर्देशनालय मार्फत भूकम्प प्रभावित जिल्लाहरुमा औषधी, खोप तल्लोतहसम्म नै पु¥याएर काम गरेका छौं । जुन काम अहिलेसम्म पनि जारी नै छ । पशु सेवा विभागले पशु सेवामा काम गरिरहेका अन्य संघसंस्थाहरुलाई समेत आग्रह गरी उहाँहरुको समेत सहयोगमा किसानका गोठसम्म पुगेर सेवा उपलब्ध गराएका छौं ।
० तर, राहत पाउने पीडित भन्दा गैर पीडित बढी भए भन्ने पनि सुनियो नि ?
हो कुरा बाहिर आएको छ । हरेक ठाउँमा त्यस्ता मानिसहरु पनि भेटिन्छन् जसले गलत नियत लिने गरेका छन् । त्यस्ता केही व्यक्तिका वास्तविक केही पीडितहरुले राहत  पाउन सकेनन् होला तर सवै गैर पीडितहरुले लिए भन्नु पनि गलत नै हुन्छ । किन भने एकदुई जना फट्याई गर्नेहरुलाई लिएर समग्रमा मुछ्नु पनि हुँदैन । तर कुरा के हो भने पशु सेवा तर्फ राहत वितरणमा त्यस्तो धेरै समस्या परेका छैन ।
० किन त्यस्ता कुरा आए त ?
केही केहीले गैर पीडितहरुले पनि लिएका छन् लिँदै नलिएका होइनन् । पशुपंन्छीको क्षति भएका किसानहरु छिटपुट बाहेक सवै पीडितहरुले नै सेवा पाएका छन् । हामीसँग ग्रामिणभेगसम्मका किसानहरुसँग प्रत्यक्ष संलग्न रहिरका सेवा केन्द्रका कर्मचारीहरु वास्तविकताको नजिक पुगेर जिल्ला दैवी प्रकोप उद्धार समितिकै सहकार्यमा राहत तथा सेवा दिईरहेका कारण पनि पशु सेवा तर्फ त्यस्तो गैर पीडितले नै सेवा पाएको हो भन्ने छैन ।
० त्यसो ए किसानहरुले सहज रुपमा राहत पाउनु भएको  ?
केही किसानहरुले पाउन सक्नु भएन होला, तर अधिकांश किसानहरुले सहज रुपमा नै सवा प्राप्त गर्नु भएको छ । एउटा कुरा के हो भने किसानहरुको आवश्यकता अनुसार क्षतिपूर्ति दिन सकिएन होला तर दिँदै नदिएको भने होइन । कृषि विकास मन्त्रालयसँग भएको स्रोत र साधन नेपाल सरकारले उपलब्ध गराएका स्रोतलाई राम्रैसँग परिचालन गरी किसानका गोठसम्म पुगेर सेवा उपलब्ध गराउने कार्यमा हाम्रा कर्मचारी दिनरात नभनि खटिएका छन् । अझै पनि धेरै प्राविधिक, पशु स्वास्थ्यकर्मीहरु भूकम्प प्रभावित क्षेत्रमा नै बसेर काम गरिरहनु भएको छ । त्यसले पनि किसानले पाउने सेवा पुगिरहेको छ भन्ने कुरामा हामी ढुक्क छौं ।
० गाईबस्तु मरेका छन् त्यो क्षतिपूर्ति त दिन सकिएन होला नि ?
यस्तो विषम परिस्थितिमा ठ्याक्कै हिजो कै जस्तो अवस्थामा ल्याउन गाह्रो नै हुन्छ । तर, कुरा के हो भने मन्त्रालयले यसका लागि अल्पकालिन, मध्यकानि र दीर्घकालिन कार्यक्रम निर्माण गरी अघि बढिरहेको छ । अल्पकालिन कार्यक्रममा हामीले मृत्यु भएका पशुहरुको व्यवस्थापन गर्ने, घाइते पशुहरुको तत्काल उपचार गर्ने, पशु आहार पु¥याउने काम गरिसकेका छौं । अव मध्यकालिनका रुपमा पनि हामीले गाईगोठ बनाउन सहयोग गर्ने काम पनि गरिरहेका छौं । हाम्रो सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरी भूकम्प पीडित किसानलाई सेवा दिन काममा हामी सक्रिय रहेका छौं । महत्वपूर्ण कुरा के हो भने गाईबस्तु धेरै नै मरेका छन् । किसानहरुको रोजीरोटी नै प्रभावमा परेको छ । त्यसकारण हामीले स्रोत साधन जुटाएर गाई भैसीनै सहयोग गर्ने सोचमा पनि लागि परेका छौं । प्रस्तुति : वैकुण्ठ भण्डारी  

प्रकाशित मिति: आइतवार, असार ६, २०७२