शनिबार, बैशाख ८, २०८१

नेपाली प्रशिक्षार्थीले कम पारिश्रमिक पाए

praldad prasai

० इजरायलमा कृषि अध्ययन गर्न आएका युवाहरुबाट कस्तो अपेक्षा गर्नु भएको छ ?
विगतमा इजरायलमा कृषि अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या धेरै नै न्यून थियो । पछिल्लो दुई तीनबर्षदेखि हामीले इजरायल सरकारसँग समन्वय गरेर हरेक बर्ष नेपालका विभिन्न जिल्लाबाट पाँच सय युवा विद्यार्थीहरु छनौट गरेर इजरायलको कृषिमा प्रशिक्षणका लागि ल्याउने काम भईरहेको छ । नेपालमा यसको समन्वय साना किसान विकास वैंकले गरेको छ भने इजरायली सरकारको सहयोगमा सरकारी तथा निजी संस्थाहरुले इजरायलमा भएका कृषि प्रविधिका सीप सिकाउनका लागि अवसर प्रदान गरिरहेका छन् । यसलाई मैले धेरै नै उत्साह र सकारात्मक रुपमा लिएको छु । नेपाली विद्यार्थीहरुसँग हामीले पटक पटक भेटेका छौं । विद्यार्थीहरुले शुरु शुरुमा केही असहजता महशुश गरेको भएपनि अहिले धेरै उत्साह पूर्वक हामीले पनि इजरायलमा सिकेको सीप सकारात्मक रहेछ र हामीले पनि केही गर्न सकिने रहेछ भन्ने सोच युवाहरुमा पाएको छु ।
० युवाहरुलाई कृषि प्राविधिक सीप सिकाउनका लागि किन इजरायल नै ल्याइयो ?
विगतमा इजरायलामा कृषिमा काम गरेर गएका व्यक्तिहरुले नेपालमा यहाँको प्रविधिलाई प्रयोग गरेर कृषि फार्महरु सञ्चालन गरिरहेका छन् । ती फार्महरुले राम्रो काम गरिरहेका कारण पनि राजदूताबासले अरुलाई पनि यहाँको प्रविधि सीप सिकाउन पाएहुन्थ्यो भन्ने सोच्यौं । र इजरायल सरकारसँग कुरा गरेपनि इजरायली सरकार सकारात्मक भएकाले हामीले इजरायल नै ल्याएका हौं ।
० प्रशिक्षार्थी इजरायल ल्याउने काम सरकारले नै किन नगरेको ?
सरकारले नै स्वीकृत दिएर साना किसान वैंकले युवा विद्यार्थीहरुलाई कृषिको प्राविधिक प्रशिक्षणका लागि ल्याएको हो । युवा प्रशिक्षार्थी इजरायल ल्याउनका लागि निष्पक्षताका लागि इजरायल सरकार कृषिमा काम गरेकै संस्थाबाट ल्याउने सहमत भएपछि कृषिमै काम गरिरहेको साना किसान वैंकलाई विद्यार्थी ल्याउने जिम्मा दिएको हो । किन भने साना किसान वैंकले साना किसानका क्षेत्रमा काम गरिरहेको भएकाले उसलाई जिम्म दिएको हो । सवै कुरा सरकारले मात्र गरेर पनि साध्य हुँदैन । सरकारले कसै न कसैलाई जिम्मा त दिनु पर्दथ्यो नै त्यो काम साना किसान वैंकले पायो ।
० नेपालीहरुलाई इजरायल ल्याउन कृषि क्षेत्र नै किन लक्षित गरियो यो इजरायल सरकारले खोजेको हो वा नेपाल सरकारले ?
यो काम हाम्रै माग अनुरुप भएको हो । इजरायलसँग अत्याधुनिक प्रविधि छ त्यो प्रविधिसँग पानीको अत्यन्तै अभाव र मरुभूमी जस्तो ठाउँमा पनि राम्रो कृषि उत्पादन गर्नु भएको छ । यस्तो ठाउँमा पानीलाई कसरी सदुपयोग गरेर कृषि उत्पादन बृद्धि गरिएको छ । कसरी खाद्यान्न जोगाएर उत्पादन गरिएको छ र गुणस्तरीय उत्पादन कसरी गर्न सकिन्छ भन्ने अनुभव इजरायलीहरुसँग छ । ३ प्रतिशत जनताले कृषि उत्पादन गरेर ९७ प्रतिशत जनतालाई पु¥याउने मात्र होइन विदेश निर्यात समेत गर्दछन् । तर हामी धेरै जनता कृषिमा छौं तर आत्मनिर्भर हुन सकेका छैनौं । हामीले पनि इजरायलबाट केही सिक्न सक्छौं कि भन्ने सोचले हाम्रो माग अनुसार कृषिमा युवाहरुलाई प्रशिक्षणका लागि ल्याइएको हो ।
० नेपालको सन्दर्भमा इजरायली प्रविधि कत्तिको उपयोग होला ?
अत्यन्तै उपयोगी हुन्छ । हेर्नुस् हामीकहाँ बर्षा समयमा अत्यन्तै धेरै पानी हुन्छ । त्यसबेला खेतबारीमा भएको मल सवै बगाएर लैजान्छ । हिउँद लागेपनि एक थोपा पानी हुँदैन । तर यहाँ प्रयोग भएको थोंपा सिंचाईले पानी र आवश्यक मल पनि ठिक्क मिलाएर दिएको हुन्छ । इजरायली थोंपा सिंचाई प्रविधिले पानीका लागि मात्र होइन विरुवाका लागि आवश्यक अन्य पौष्टिक तत्व पु¥याउनका लागि पनि अति नै उपयोगी छ ।
० इजरायली प्रविधि विस्तारको सम्भावना छैन भन्छन् नि ?
होइन गर्नेहरुले त गरिरहेकै छन् । सम्भावना धेरै छ तर मेहनत गर्नु पर्दछ । मेहनत नै नगरी सम्भावना छैन भन्ने हो भने काम केही पनि हुँदैन कृषिमा मेहनत विना केही पनि हुँदैन ।
इजरायली प्रविधि भित्र्याउँदैमा नेपालले कृषिमा व्यवसायिकरण गर्दछ भन्ने सपना मात्र त हुँदैन नि ?
केही परिवर्तन गर्नका लागि सपना देख्नु नै पर्दछ । इजरायले पनि ६७ बर्ष पहिले सपना देखेको थियो र नै आज यो अवस्थामा आईपुगेको छ । प्रविधिको जुन विकास इजरायलले गरेको छ त्यो सवै सोचेर सपना देखेर नै हो । इजरायल जस्तो मरुभूमिमा त यति राम्रो कृषि उत्पादन हुन सकेको छ आत्मनिर्भर बनेर विदेश निर्यात गरिरहेका छन् भने हामी कहाँ त अत्यन्तै मलिलो माटो भएको ठाउँ हामीले राम्रोसँग प्रयोग गर्न सक्छौं । इजरायलमा भएको सवै प्रविधि हामी प्रयोग गर्न सक्दैनौ तर सक्ने जति त गरौ न । कृषिका लागि विश्वकै तुलनामा हाम्रो देशमा राम्रो वातावरण छ तर, हामीले बैज्ञानिक किसिमले गरेका छैनौ ।
० इजरायलमा प्रशिक्षार्थीका रुपमा आएका नेपालीलाई अन्य देशका प्रशिक्षार्थीहरुलाई भन्दा कम पारिश्रमिक दिन्छन् रे नि ?
त्यो गुनासा हामीलाई पनि आएको छ । गुनासा आएपछि सम्वन्धित निकायमा हामीले पु¥याएका पनि छौं । कतिपय त्यस्ता समस्या समाधान पनि भईसकेका छन् । यो सरकार वा प्रशिक्षण लिईरहेको विद्यालयले भन्दा पनि किसानहरुले पारिश्रमिक दिने भएकाले त्यस्तो समस्या आएका पनि छन् । नेपाली प्रशिक्षार्थीलाई कम पारिश्रमिक दिएको छ भन्ने खवर पाएपछि हामीले इजरायल सरकारसँग तत्कालै सम्पर्क गरेर त्यसलाई सुधार्नेकाम तिर लागेका छौं ।
० प्रशिक्षार्थीका रुपमा आएका विद्यार्थीहरु सन्तुष्ट छन् त ?
शुरु शुरुमा उहाँहरु अलमलिनु भएको थियो । यहाँ एक दिन पढ्ने र पाँच दिन काम गर्ने नै हो । त्यही काम गरे अनुसारको पारिश्रमिक पाउने हो । विगतमा भन्दा अहिले प्रशिक्षार्थीका रुपमा आएका नेपालीहरु धेरै नै सन्तुष्टि भएको मैले पाएको छु ।
० इजरायलमा प्राविधिक शिक्षा लिएका विद्यार्थीहरु धेरै जसो नेपालमा फर्केर कृषिमा लाग्ने जस्तो त देखिएन त ?
हामीले त उहाँहरु एकबर्ष पछि फर्केर गएर कृषि क्षेत्रमा नै लाग्नु हुनेछ भन्ने आशा लिने हो । सवै कृषिमा लाग्नु भएन र केही मात्रले गर्नु भो भने पनि सकारात्मक परिवर्तन आउँछ । त्यसैले पनि हामीले इजरायल सरकारसँग अनुरोध पनि गरेका छौं हरेक जिल्लाबाट कम्तिमा एक सय जना प्रशिक्षित गराईदिनु भयो भने हाम्रो कृषिमा बेग्ले किसिमको परिवर्तन आउँछ भनेका छौं । उहाँहरु पनि सकारात्मक नै हुनु हुन्छ । हामीले यसको सदुपयोग गर्नु पर्दछ । हामी प्रविधिलाई प्रयोग गरेर कृषि आत्मनिर्भर बन्नुको विकल्प छैन । -वैकुण्ठ भण्डारी  

प्रकाशित मिति: आइतवार, असार १३, २०७२