शुक्रबार, बैशाख १४, २०८१

जुम्लामा केशरको व्यवसायिक खेती शुरु

जुम्ला, २७ जेठ । दुर्लभ र महँगो जडीबुटी मानिने केशर (स्याफरोन) को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ । चन्दननाथ नगरपालिका–८ स्थित फाँटमा जिएसएम केशर खेती तथा उत्पादन उद्योगले दुई वर्षदेखि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको हो । काठमाडौँमा पर्यटन व्यवसायमा लामो अनुभव बटुलेका रुकुमका सरद मल्ल र जुम्लाका व्यवसायी गोविन्दबहादुर शाहीले संयुक्त रूपमा केशरखेती सुरु गरेका हुन् । करिब छ रोपनी क्षेत्रफलमा रु ६१ लाख ५६ हजार ११४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ । kesar
केशरखेती नयाँ र राष्ट्रलाई सम्वृद्ध बनाउने सम्भावना बोकेको जडीबुटी भएकाले यसको व्यावसायिक उत्पादनतर्फ लागेको व्यवसायी शरद मल्ल बताउँछन् । थोरै जमिनमा बढी उत्पादन दिने बहुमूल्य जडीबुटी केशरको सम्भावना देखेरै केशरखेतीमा लागेको उनले बताए । “केशरको बजार छ, माग अनुरूप उत्पादन गर्न सकिएको छैन । नयाँ चिज उत्पादन गर्न हिमाली आयोजनाले प्रेरणा दिएकोले यो व्यवसायमा लागेको हु,” उनले भने । दुई वर्षअघि भारतको जम्मुकाश्मिरबाट केशरको बिरुवा (गाना) ल्याएर खेती सुरु गरेका मल्लले अघिल्लो वर्ष सन्तोषजनक उत्पादन दिएकोमा दङग समेत परेका छन् । उनले अघिल्लो वर्ष ३२ हजार फूलबाट ३०० ग्राम केशर उत्पादन गरेका थिए। बीस ग्रामको बिरुवाले चारवटा फूल दिन्छ । एक किलो केशर उत्पादन गर्न एक लाखदेखि एक लाख २० हजारसम्म फूल चाहिन्छ । यो बिरुवा रोपेको १५ दिनदेखि एक महिनाभित्र फूल्न थाल्छ । अम्लिय माटोमा उत्पादन हुने केशरलाई मल धेरै चाहिन्छ । असोजको पहिलो हप्ता रोपेर अन्तिममा फूल्छ, कात्तिक महिनाभरिमा टिपिसक्नुपर्छ । बिहानदेखि १२ बजेसम्म फूल्छ, बेलुकासम्म टिपिसक्नुपर्छ मल्लले भने ।
पाँच वर्षमा आठ किलो केशर उत्पादन गर्ने लक्ष्य लिएका व्यवसायी मल्लको केशरखेती थप विस्तार गर्ने योजना छ । जुम्लाको केशर विश्वमै अति राम्रो मानिने भएकाले यो खेतीको आकर्षण बढ्दो छ । जुम्लाका चार÷पाँचजना किसानले मात्र केशरखेती सुरु गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २७, २०७२