बुधबार, बैशाख १९, २०८१

अन्न पुरिएपछि बीउ अभाव

बनेपा, १२ जेठ । भूकम्पका कारण अन्न पुरिएपछि काभ्रेपलाञ्चोकमा बीउ अभाव भएको छ । भूकम्पका कारण धान र मकै पुरिएकाले बीउ अभाव हुने देखिएको हो । खुमल–४ जातको धान र रामपुर कम्पोजिट जातको मकैको बीउको जिल्लामा अभाव हुन थालेको कृषि कार्यालयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले रु ९० लाख बराबरको ११० मेट्रिक टन धानको बीउ र रु ४० लाख बराबरको ५० मेट्रिक टन मकैको बीउको माग रहेको बताए । “धानको बीउको सबैभन्दा बढी माग छ” उनले भने ।

भूकम्पका कारण बीउको अभाव भएकाले कृषि कार्यालयमा कृषकको भिडभाड बढीरहेको छ । कृषकले उत्पादन गरेको बीउमा क्षति भएकाले थप समस्या देखिएको हो । “बीउ पुरिएपछि बाहिरबाट आपूर्ति गर्न समस्या देखिएको छ” उनले भने । जिल्लामा करिब १२ हजार हेक्टरमा धान र २४ हजार हेक्टरमा मकैकखेती हुँदै आएको छ । भूकम्पका कारण यहाँ कृषकको रु एक अर्ब २५ करोड बराबरको २५ हजार मेट्रिक टन खाद्यान्न क्षति भएको छ । कृषि कार्यालयबाट ३०० किलो धानको मूल बीउ र १०० किलो मकैको मूल बीउबाट बीउ उत्पादनको तयारी भइरहेको छ । “आगामी वर्षका लागि यसले केही राहत दिन्छ भन्ने लागेको छ” पौडेलले भने ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १२, २०७२