आइतवार, जेष्ठ ६, २०८१

घरभन्दा चौपाया मरेकामा बढी पीडा

ललितपुर, २६ वैशाख । भूकम्पपीडित स्थानीयवासीलाई क्षतिग्रत घरको चिन्तासँगै पशुचौपाया मरेको अर्काे चिन्ता थपिएको छ । विनाशकारी भूकम्पका कारण धनजनको क्षतिसँगै धेरै चौपायासमेत मरेका छन् । पशुपक्षी तथा कृषि व्यवसायमा आधारित भएर दैनिक जीवन गुजारा चलाउँदै आएका स्थानीयवासीलाई उक्त समस्याले पिरोलेको छ । जिल्लाको दक्षिणी भेगमा पर्ने घुसेल गाविस वडा नं ९ बस्ने सुरेश लामाले विनाशकारी भूकम्पबाट आफ्नो घरगोठसँगै आफूले पाल्दै आएका तीन भैँसीसमेत पुरिएर मरेका कारण थप पीडा भएको सुनाए । आफ्नो परिवारको पालनपोषण दैनिक दूध बेचेर दैनिकी अब कसरी चलाउने भन्ने चिन्ता उहाँमा देखिएको छ । कृषि व्यवसायमा आधारित लामाले “भएको चौपाया मरयो अब अर्को किन्ने पैसा पनि छैन” भन्दै दुखेसो पोखे ।

यस्तै भट्टेडाँडा गाविस बस्ने ५७ वर्षीय टेकनाथ तिमल्सिनाले दूध बेचेरै आफ्नो परिवारको आवश्यकतालाई पूरा गर्दै आएको तर अब भूकम्पले घरगोठ भत्किँदा लैनो भैँसी मरेकाले परिवारको सपनालाई साकार पार्न कठिन भएको बताए । “कृषि उत्पादन र दूध बेचेर भए पनि आफ्ना छोराछोरीलाई काठमाडौँ अध्ययनका लागि पठाउन सकिएको सुनाउँदै अब त्यो पूरा हुने दिन गएको छ बाबु” उनले बिलौना गरे । बाह्र सदस्यीय परिवारको पालनपोषण र आर्थिक मजबुतीका निमित्त दूध बेच्नाको विकल्प नरहेकाले अब अर्को भैँसी किन्नलाई पैसाको आवश्यकता भएको उनले गुनासो गरे । गोटीखेल गाविस बस्ने राजेन्द्र अधिकारीको पनि कथन उस्तै देखिएको छ । विनाशकारी भूकम्पका कारण कृषि पेसाबाट आत्मनिर्भर अधिकारीको सपनालाई पनि एकै छिनमा उडाइदिएकामा विपना हो कि सपना हो ठम्याउन गाह्रो भएको छ ।
दुई साताअघिको भूकम्पमा परी हालसम्म ललितपुरमा लैनो भैँसी १३१, गाई २२ र कुखुरा तीन हजार ८३ वटा मरेको पशु सेवा कार्यालयका प्रवक्ता पृथ्वीनारायण जोशीले बताए । उनका अनुसार प्रतिलैनो भैँसी न्यूनतम रु ८० हजार, प्रतिगाई रु ६० हजार तथा प्रतिकुखुरा रु ५०० का दरले कुल रु एक करोड ३३ लाख ४१ हजार ५०० बराबरको क्षति भएको छ । यस्तै ८१ भैँसी, १९ गाई तथा ६८ बाख्राको उपचार भइरहेको छ । जिल्लाभरि २५ सरकारी र ५० निजी प्राविधिक स्थलगत उपचारमा व्यस्त छन् । उपचारमा लाग्ने सम्पूर्ण औषधि कार्यालयले निःशुल्क उपलब्ध गराएको छ । यसैगरी बाँकी रहेका तथ्याङ्क सङ्कलनका निमित्त गाउँ गाउँमा प्राविधिक टोली खटाइरहेकाले पूर्ण जानकारी आउन अझ केही दिन लाग्ने प्रवक्ता जोशीले बताए ।
जिल्लामा दैनिक रुपमा करिब ४० हजार दूधको खपत हुँदै आएकामा धेरैजसो पशुचौपाया मरेका कारण त्यसलाई अत्यधिक प्रभाव पारेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रामप्रसाद आचार्यले बताए । विशेषगरी जिल्लाको दक्षिण भेगमा पर्ने १९ गाविसका अधिकांश स्थानीयवासीले पाल्दै आएका पशुचौपाया भूकम्पका कारण मरेकाले यस्तो समस्या आएको बताइएको छ । लैनो गाई, भैँसी मरेका कारण अहिले जिल्लामा २० हजार लिटरको हाराहारीमा दूधको उत्पादन घटेको बताइएको छ । जिल्लाभरि खपत हुँदै आएको कुल दूधको ७० प्रतिशत हिस्सा दक्षिणी भेगका कृषकबाट हुने गरेको थियो । विसं २०४२ देखि सो भेगका मानिस कृषि पेसाबाट जीवन चलाउँदै आएका थिए । जिल्लाभरि पाँच हजार ५०० चौपाया भूकम्पबाट मरेको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २६, २०७२