आइतवार, जेष्ठ ६, २०८१

डोटीमा सामुदायिक बीउ बैंक स्थापना हुने

डोटी, २८ चैत । जिल्ला कृषि विकास कार्यालय डोटीको बीउ बैंक कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक भागेश्वर सामुदायिक बीउ बैंक स्थापना गरिने भएको छ ।
किसानका लागि बीउबिजनको आपूर्ति सहज गर्न र बीउ प्रतिस्थापन गर्न बीउ बैंकको स्थापना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय डोटीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । बुधबार मात्रै जिल्लाको मुडेगाउँ गाविस–२ मा स्थापना गर्न लागिएको सामुदायिक बीउ बैंकको भवनको शिलान्यास जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले गरेका थिए ।
बीउ वृद्धि कार्यक्रमअन्तर्गत वितरित बीउबाट उत्पादन भएको अन्न किसानबाट सङ्कलन गरी बीउ बैंकमा राखिने उनले बताए । अन्न बालीलाई लक्ष्य गरी स्थापना हुन लागेको बीउ बैंकमा गहुँ, मकै, धान बालीको बीउ भण्डारण गरिने जनाइएको छ ।
सो सामुदायिक बीउ बैंक नेपालकै नवौँ बीउ बैंकका रूपमा स्थापना भएको छ । जिल्लामा अहिले वार्षिक १४ लाख किलो गहुँको बीउ र छ लाख किलो धानको बीउको माग हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७१