आइतवार, जेष्ठ ६, २०८१

जैविक विषादीको माग बढ्दै

काभ्रे, २८ चैत । चार वर्षदेखि काभ्रेपलाञ्चोकको कुशादेवी गाविसमा स्थापना भएको जैविक विषादी उत्पादन उद्योगमा जैविक विषादीको माग दोब्बर बढेको छ । सानो परिणाममा परीक्षणका लागिमात्रै उत्पादन भएको जैविक विषादी विभिन्न बालीमा प्रभावकारी देखिएपछि कृषकले यसको माग बढी गरेको जैविक विषादी उद्योगका प्राविधिक कृषक रितकुमार सापकोटाले जानकारी दिएका छन् । उनले अधिकांश जैविक विषादी जिल्लामै खपत भएको र केही जैविक विषादी चितवन, सिन्धुपाल्चोक र दोलखामा समेत बिक्री वितरण भइआएको बताए ।
विद्युत् भार कटौतीको समस्या र केही उपकरणको अभावले पनि भनेजति विषादी उत्पादन गर्न नसकिएको प्राविधिक कृषक सापकोटाको भनाइ छ । उनका अनुसार बर्सेनि ट्राइकोडमा ८०० किलोग्राम, निमाटोड एक हजार २०० लिटर, एनपिभी दुई हजार एमएल, मेटाराइजिएम २२ किलोग्राम उत्पादन भइरहेको छ । यीमध्ये एनपिभी र मेटाराइजिएम उत्पादनका नयाँ जैविक विषादी हुन् ।
बालीमा लाग्ने खुम्रे किरा, डढुवारोग, फेद कुहिने रोगलगायतमा यी जैविक विषादीको प्रयोग बढी प्रभावकारी देखिएको छ । यी जैविक विषादी उत्पादनका लागि स्थानीय अगुवा कृषकले तालिम लिएर उद्योगमा काम गरिरहेका छन् । यस्ता कृषक चार जना छन् । राष्ट्रिय आइपिएम निर्देशनालयको अगुवाइमा सो उद्योग सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७१