आइतवार, जेष्ठ ६, २०८१

उपल्लो मुस्ताङका किसानलाई बीउ वितरण

मुस्ताङ, २७ चैत । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले उपल्लो मुस्ताङका किसानलाई १६ किलो तरकारीको बीउ वितरण गरेको छ । बीउ प्रयोगका सम्बन्धी तालिमको आयोजना गरी लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, चराङ, सुर्खाङ र चर्राङ गाविसका २० संरक्षक किसानलाई उक्त बीउ वितरण गरिएको हो । पर्यटकीय गन्तव्यका रूपमा परिचित उपल्लो क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारीको उत्पादन बढाउने उद्देश्यले किसानलाई बीउ वितरण गरिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताए ।
एक्यापले हरेक गाविसमा संरक्षण व्यवस्थापन समिति गठन गरी कृषि, पर्यटन र संरक्षणको क्षेत्रमा स्थानीयवासीसँग सहकार्य गर्दै आएको छ । उपल्लो क्षेत्रमा बेमौसमी तरकारी उत्पादनको सम्भावना राम्रो भए पनि त्यसको सुरुवात हुन सकेको छैन । “यसैलाई लक्ष्यित गरी हामीले विभिन्न किसिमका बीउ वितरण गरेका हौँ, उत्पादन बढाउन सके पर्यटकलाई स्थानीय उत्पादन खुवाउन सकिन्छ” शेरचनले बताए । कृषि विकास कार्यालयले पनि लोमान्थाङमा तरकारी विस्तार गरिएकाले किसानलाई फाइदा पुग्ने जनाएको छ । किसानलाई काउली, बन्दागोभी, रायो, मूला, जुकेनी, फर्सी, गोलभेँडा, धनियाँ, गाजर र काँक्रोको बीउ वितरण गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०७१