आइतवार, जेष्ठ ६, २०८१

शत्रुजीवको विनाश मित्रुजीवबाट

काठमाडौँ, २६ चैत । शत्रुजीवको विनाश मित्रुजीवको संरक्षणबाट सम्भव छ भन्ने उदाहरण जितपुरफेदीका किसानले प्रमाणित गरिदिएका छन् । नेपाल सरकारका पूर्व कृषि प्राविधिक भरतप्रसाद लामिछानेले उत्पादन गरेको जैविक झोल (मल) खेतीमा प्रयोग गरी मित्रुजीवको संरक्षण भएबाट जितपुरफेदीका किसान दङ्ग परेका हुन् ।
केतुके, तीतेपाती, सिस्नु, बकाइनो, बनमारा, असुरो, टिम्मुर, बोझो, निम, गाई तथा मानिसको पिसाबबाट लामिछानेले जैविक झोल (मल) बनाई किसानलाई प्रयोग गर्न उत्साहित र आकर्षित पारेको नतिजा हो, मित्रुजीवको संरक्षण ।
उनले उत्पादन गरेको सो जैविक मलको व्यावसायिक प्रयोग नेसनल गोर्खा कोअपरेटिभ, मह एग्रो फार्म जितपुर, पर्शुराम गोलभेँडा फार्मलगायतले वर्षौंदेखि प्रयोग गर्दै आएका छन् । झोल (मल) प्रयोगका कारण भाइरल, ढुसीनाशक रोगलाई तथा झुसिलकीरा, रातो कमिला र खुम्रे कीराको दोहो कटाएको छ भने माटोमा माकुरो, गड्यौँला लगायतका शत्रुजीवको संरक्षण गरेको छ ।
यतिखेर जैविक मलको प्रयोगले जितपुर फेदीका किसानले विषादी खरिद गर्न नपर्ने भएको छ । उनीहरूको लाखौँ रुपैयाँ बचत हुनगई उपभोक्ताको स्वास्थ्यमा समेत फाइदा पुगेको बताउँछिन् स्थानीय पुनम थापा ।
गोलभेँडा, आलु, काउली, बन्दागोभीलगायत तरकारीमा पर्याप्त गोठे मलको आवश्यकता पर्छ । तर व्यावसायिक कृषि गर्नेले पशुपालन गर्न नभ्याउनेका लागि लामिछानेले उत्पादन गर्ने गरेको जैविक मल यहाँ यतिखेर बरदान साबित भएको बताउँछन स्थानीय किसान बमबहादुर कार्की ।
त्यस भेगका किसानले जैविक झोलमा १५ लिटर पानी मिसाएर प्रयोग गरेका कारण बालीमा शत्रुजीवले आक्रमण नगरेको र रासायनिक विषादी खरिद गर्न छोडेका कृषिका प्राविधिक डा दीपक भण्डारीको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०७१