शनिबार, जेष्ठ ५, २०८१

कृषि मेलामा बजारीकरण छलफल

नुवाकोट, १८ चैत । अन्ठाउन्नौँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित प्रथम नुवाकोट कृषि मेलामा जिल्लाका कृषि उत्पादन र कृषिका लागि आवश्यक औजार र प्रविधि तथा पशुपालन, हस्तकलाका सामग्री, वैकल्पिक उर्जा, जैविक कृषि आदि प्रदर्शन गरिएका छन् ।
‘प्रथम नुवाकोट कृषि मेला २०७१’ (कृषि उत्पादन, यन्त्र, औजार र प्रविधि प्रदर्शनी)’ नाम दिइएको मेलामा कृषक, कृषि उद्यमी, व्यवसायी, कृषक समूह, सहकारी सङ्घघसंस्थाका विभिन्न उत्पादन राखिएका छन् । मङ्गलबारदेखि सुरु भएको मेलाकै अवसरमा हरेक दिन कृषिविज्ञ र कृषकबीच विभिन्न विषयमा अन्तरसंवाद गरी कृषि उत्पादनमा भएका समस्या, बीउबिजनको प्रयोग, लागत, बजारीकरणको शैली, नुवाकोटको कृषि सम्भावनालगायतका विषयमा छलफल समेत गरिने बताइएको छ ।
सदरमुकाम विदुरस्थित जिल्ला सहकारी सङ्घको बहुउद्देश्यीय व्यावसायिक भवनमा भएको मेला यही चैत २० गते सहकारी दिवसको दिनसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोजगारीको बृहत् क्षेत्र नै कृृषि भएकाले यसको सम्भावनाको खोजी गरी प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, चैत्र १८, २०७१