शनिबार, बैशाख १५, २०८१

प्रांगारिक मलको अनुदान दुरुपयोग सरकारी नीतिमाथि मौकामा चौका

Bio_organic_fertilizerकाठमाडौं, । रासायनिक मल भन्दा प्रांगारिक मलको प्रयोगलाई बढावा दिने सरकारी नीतिलाई मौकामा चौका हान्न तयार भएका केही प्रांगारिक मल उत्पादकहरुले सरकारी अनुदान कसरी मुठ्ठीमा पार्न सकिन्छ भन्ने अभियानमा जुटेका देखिन्छन् । विगतबर्षहरु पनि माटो व्यवस्थापन निर्देशनालय मार्फत प्रांगारिक मल उत्पादनका बृद्धि गर्नका लागि वितरण गरिएको अनुदानको रकम सहि प्रयोग हुन सकेको छैन भन्ने आरोप खेपिरहेका बेला यस बर्ष पनि प्रांगारिक मलमा अनुदान हात पार्नका लागि शक्तिकेन्द्र धाउन थालेका छन् व्यवसायीहरु ।
विशेष गरी राजनीतिक आडमा अनुदान लिने तर मल उत्पादन नगर्ने प्रबृत्तिका कारण नेपालमा उत्पादन भएका कही बाहेक प्रांगारिक मलको गुणस्तरता माथि नै प्रश्न उठ्न थालेको छ । गतबर्षहरुमा हेर्ने हो भने नेपालमा उत्पादन भएका प्रांगारिक मल भन्दा भारत थाईल्याण्ड, बंगलादेशबाट पनि प्रांगारिक मल आयात गरी विक्री वितरण गरेको देखिन्छ ।
यद्यपी नेपालमै प्रांगारिक मल कारखाना सञ्चालनमा ल्याई रासायनिक मल प्रयोगलाई न्यूनिकरण गर्नका लागि कृषि विकास मन्त्रालयले त्यस्ता कारखानाहरुलाई सामग्री किन्नका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । तर ती अनुदान सहि प्रयोग हुन सकेको देखिँदैन । सरकारी फितलो अनुगमनका कारण पनि प्रांगारिक मल उत्पादनका लागि दिएको अनुदान बालुमा पानी हाले बराबर भएको छ । करोडौं रुपैयाँ अनुदान उपलब्ध गराइएको भएपनि उत्पादनमा बृद्धि हुन सकेको छैन भने नेपाली किसानहरुलाई नेपालमा उत्पादन भएका प्रांगारिक मलले आकर्षण गर्न समेत सकेको छैन ।
सरकारले प्रागांरिक मलमा उपलब्ध गराउँदै आएको अनुदानमा भएको दुरुपयोग तत्काल रोक्नु जरुरी छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २८, २०७१