शनिबार, बैशाख २२, २०८१

प्रांगारिक मलमा सरकारी अनुदान : बालुवामा पानी

Bio_organic_fertilizerकाठमाडौं, १ चैत्र । रासायनिक मल भन्दा प्रांगारिक मलको प्रयोगलाई बढावा दिने सरकारी नीतिलाई मौकामा चौका हान्न तयार भएका केही प्रांगारिक मल उत्पादकहरुले सरकारी अनुदान कसरी मुठ्ठीमा पार्न सकिन्छ भन्ने अभियानमा जुटेका देखिन्छन् । सरकारी सम्पत्ति हात नपारुनञ्जेल मल उत्पादन गरे जस्तो गर्ने र अनुदानको रकम हात पारेपछि मल उत्पादन गर्ने कारखाना नै बन्द गर्नेसम्मका काम पनि भएको देखिन्छ । विगतबर्षहरु पनि माटो व्यवस्थापन निर्देशनालय मार्फत प्रांगारिक मल उत्पादनका बृद्धि गर्नका लागि वितरण गरिएको अनुदानको रकम सहि प्रयोग हुन सकेको छैन भन्ने आरोप खेपिरहेका बेला यस बर्ष पनि प्रांगारिक मलमा अनुदान हात पार्नका लागि शक्तिकेन्द्र धाउन थालेका छन् व्यवसायीहरु ।
विशेष गरी राजनीतिक आडमा अनुदान लिने तर मल उत्पादन नगर्ने प्रबृत्तिका कारण नेपालमा उत्पादन भएका कही बाहेक प्रांगारिक मलको गुणस्तरता माथि नै प्रश्न उठ्न थालेको छ । गतबर्षहरुमा हेर्ने हो भने नेपालमा उत्पादन भएका प्रांगारिक मल भन्दा भारत थाईल्याण्ड, बंगलादेशबाट पनि प्रांगारिक मल आयात गरी विक्री वितरण गरेको देखिन्छ । तर नेपालमा उत्पादन भएका भनिएका प्रांगारिक मल किसानसम्म पुग्न सकेको देखिंदैन । सरकारको रकम झ्वाम्म पार्नका लागि मल उत्पादन गरे जस्तो गर्नेहरु पनि प्रशस्त नदेखिएका भने होइनन् ।
यद्यपी नेपालमै प्रांगारिक मल कारखाना सञ्चालनमा ल्याई रासायनिक मल प्रयोगलाई न्यूनिकरण गर्नका लागि कृषि विकास मन्त्रालयले त्यस्ता कारखानाहरुलाई सामग्री किन्नका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । तर ती अनुदान सहि प्रयोग हुन सकेको देखिँदैन । सरकारी फितलो अनुगमनका कारण पनि प्रांगारिक मल उत्पादनका लागि दिएको अनुदान बालुमा पानी हाले बराबर भएको छ । करोडौं रुपैयाँ अनुदान उपलब्ध गराइएको भएपनि उत्पादनमा बृद्धि हुन सकेको छैन भने नेपाली किसानहरुलाई नेपालमा उत्पादन भएका प्रांगारिक मलले आकर्षण गर्न समेत सकेको छैन ।
सरकारले प्रांगारिक मल उत्पादनका लागि अनुदान उपलब्ध गराएका कम्पनीहरुले पनि अनुदानको रकम सदुपयोग गर्न नसकेको गुनासो आउन थालेको मात्र होइन अधिकांश उद्योगहरु मल उत्पादन गर्न छाडेर बन्द गरिसकेका छन् । विराटनगरमा रहेको गोविन्द झुनझुनको जनकपुर फर्टिलाइजर होस् वा एमाले केन्द्रिय सदस्य एवं किसान महासंघका कार्यवाहक अध्यक्ष केशवलाल श्रेष्ठको बनसुन प्रांगारिक मल उद्योग, युनिक बायोटेक अर्गानिक प्रालि, नै किन नहुन् प्रांगारिक मल उत्पादनका लागि कृषि विकास मन्त्रालयबाट अनुदान लिएको भएपनि मल उत्पादन गर्ने काम भने गर्न छाडेका छन् । बनसुन र जनकपुर यी दुवै मल कारखाना यतिखेर बन्द भईसकेका छन् ।
यस आर्थिक बर्षमा पनि प्रांगारिक मल उत्पादन गर्नका लागि अनुदान लिने पर्खाइमा रहेको उद्योगाीहरुले लामो समयसम्म मल उत्पादन गर्ने अवस्था देखिएको छैन । अनुदान हात पार्नका लागि मात्र देखावटी रुपमा मल उत्पादन गर्ने उद्योगीहरुका कारण वास्तविक मल उत्पादकहरु भने पाखा लाग्नु परेको छ । तसर्थ कृषि विकास मन्त्रालयमा बसेका उच्च अधिकारीहरुले यस्ता अनुदान लिएर काम नगर्नेहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति: आइतवार, चैत्र १, २०७१