बुधबार, बैशाख २६, २०८१

प्रशस्त घाँस खुवाएका गाईभैंसीको दूध हाइजेनिक

cowरुपन्देही,  फाुगन । पहिले दाना र परालमा निर्भर पशुपालन पछिल्लो समय घाँसमा आधारित हुन थालेको  छ  । दूध उत्पादनमा आत्मनिर्भर रुपन्देहीमा घाँसमा आधारित पशुपालन फस्टाउन थालेको छ। यसमा थोरै लगानीबाटै धेरै आम्दानी गर्न सकिने भएकाले किसानको आकर्षण बढेको हो।जसले गर्दा पशु आहार जुटाउन पनि सजिलो भएको किसानहरुले बताउन थालेका छन् ।
 घाँसखेती थालेपछि चौपायाका लागि दाना, चापड र परालमा धेरै खर्च गर्नु नपरेको किसानहरु बताए। एक सिजनमा लगाएको घाँस ६ महिनामा ४ पटकसम्म काटेर चौपायालाई खुवाउन मिल्ने र त्यसले गाईमा दुधालुपन बढाएको उनीहरुको भनाई छ ।  चार वर्षदेखि स्पार्क गाई फार्म सञ्चालन गरेका शर्माले फार्मसँगैको करिब एक बिघा जग्गामा बर्सिम, जुनेलो जस्ता घाँस लगाएका छन्। गाईबस्तुका लागि दानाको खर्च भन्दा भाडामा जग्गा लिएर गरीएको घाँसबाट दुध उत्पादन लागत कम पर्न जाने शर्माको अनुभव छ। शर्मा र थारु मात्रै होइन जिल्लामा पछिल्लो समय घाँसमा आधारित पशुपालन गर्नेहरु प्रशस्तै छन्।
जिल्ला पशुसेवा कार्यालयका अनुसार गुणस्तरीय दूध उत्पादन गर्न पशु चौपायालाई भिटामिन तत्व भएका हरियो घाँस अनिवार्य खुवाउनु पर्छ। दुधालु गाईभैंसीका लागि आवश्यक पर्ने भिटामिन तत्व दाना र परालमा भन्दा उन्नत जातका हरियो घाँसमा बढी हुने भएकाले घाँसमा आधारिक पशुपालन अनिवार्य भएको कार्यालयले जनाएको छ। यसका लागि कार्यालयले घाँसमा आधारित पशुपालनसम्बन्धी तालिम छलफल तथा यसका फाइदाबारे कृषकमाझ चेतनामूलक कार्यक्रम गरिरहेको छ। त्यस्तै कार्यालयले जिल्लामा १८ वटा सेवा केन्द्र र दुईवटा सम्पर्क कार्यालयमार्फत पशुपालक कृषकका लागि उन्नत जातका घाँसको बीउ सित्तैँमा प्रदान गर्नुका साथै हरियो घाँस व्यवस्थापनसम्बन्धी तालिम दिने गरेको छ।
घाँसमा आधारित पशुपालन गर्दा लागत कम पर्ने, गाईभैंसीले दूध बढी दिने र बाँझोपनको समस्या कम हुने जिल्ला पशु सेवा कार्यालयका प्रमुख पशु चिकित्सक गान्धिराज उपाध्यायले बताए। । ‘अहिले पशु चौपायाको दाना, चापड, चोकर निकै महँगो छ। त्यसैले व्यावसायिक पशुपालन गर्नेले जमिन व्यवस्थापन गरी घाँसखेती गर्नु अनिवार्य छ,’ कार्यालय प्रमुख उपाध्यायले भने, ‘जसबाट उत्पादन लागत कम पर्छ र त्यसको फाइदा किसानले पाउँछन्,’। उनका अनुसार एकपटकमा १० लिटरसम्म दूध दिने गाईभैंसीका लागि उन्नत जातको घाँस प्रसस्त दिने हो भने अन्नको एक दाना पनि दिनु पर्दैन।
अन्न वा चापड, चोकर जस्ता दाना खुवाए दूध धेरै दिन्छ भन्ने मानसिकतालाई पुरानो र गलत भन्दै उनले गाईभैंसीलाई दुधालु बनाउन अन्न होइन घाँस र स्याहारमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘गोठदेखि ओठसम्म गुणस्तरीय दूध पुर्यानउन पशुचौपायालाई प्रसस्त घाँस खुवाउनु पर्छ,’ पशुचिकित्सक उपाध्यायले भने, ‘प्रशस्त घाँस खुवाएर उचित स्याहारसुसार गरिएका गाईभैंसीले दिने दूध हाइजेनिक हुन्छ।’ पशु सेवा कार्यालयका अनुसार पाँचवटा दुहुना गाई वा भैंसीका लागि कम्तीमा ६/७ कठ्ठामा अनिबार्य रुपमा उन्नत जातको घाँस लगाउनु पर्छ। कार्यालयले बर्खे, हिँउदेे र बहुवर्षीय गरी तीन प्रकारका घाँसका बीउ सित्तैँमा बाँडिरहेको छ।
प्रकाशित मिति: मङ्लबार, फाल्गुन २६, २०७१