शनिबार, बैशाख १५, २०८१

पुराना बीउ खोज्दै किसान

सोलुखुम्बु, ४ फागुन । सोलुखुम्बु जिल्लामा कृषकले हराउँदै गएका बीउ सङ्कलन गर्न थालेका छन् । जिल्लाको मुक्ली, नेले र काँगेलका कृषकले विभिन्न कृषिबालीका पुराना बीउ सङ्कलन गर्न थालेका हुन् । पुराना अन्नबाली गाउँबाट हराउन थालेपछि कृषकहरू बीउ सङ्कलनमा जुटेका हुन् । अहिले एकीकृत स्रोत व्यवस्थापन समिति सिकुखोलाले मुक्लीमा बीउ सङ्कलन केन्द्र नै स्थापना गरेको छ ।
केन्द्रले पुराना धान, मकै, कोदोलगायतका अन्य तरकारी बालीकोसमेत बीउ सङ्कलन सुरु गरेको छ । पुराना बालीमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने, उत्पादन भएको अन्न तथा तरकारी पोषिलो हुनेलगायतका कारण बीउ जोगाउने अभियान थालिएको किसानहरू बताउँछन् ।
“बाबुबाजेको पालामा लगाउने बालीको बीउ सङ्कलन थालेका छौँ” काँगेल गाविस–५ का स्थानिय बलराम बस्नेत भने । पछिल्लो समय बढी उत्पादन दिने भन्दै पुराना बीउहरू प्रयोग हुन थालेका छन् ।
काँगेल–३ का प्रितमबहादुर बस्नेत भन्छन् – “नयाँनयाँ बीउबाट उत्पादन त हुन्छ, तर स्वाद र स्वास्थ्यका दृष्टिले पुरानै बीउ उपयुक्त भएकाले सङ्कलन थालेका हौँ ।” आफूहरूले मार्सी धान, बगारे मकै, पाङदुर कोदो, स्थानीय जातको भटमास, कालोदाल, बेलायती आलु, जौलगायत अन्य बीउ सङ्कलन गर्न थालेको बस्नेत बताउछन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ४, २०७१