आइतवार, जेष्ठ ६, २०८१

युवालाई आकर्षण गर्न ८२ लाख लगानी

सल्यान, २९ माघ । जिल्ला कृषि विकास कार्यालय सल्यानले बेरोजगार युवालाई कृषि पेसामा लगाउन लगानी गर्ने भएको छ ।
कार्यालयले व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा रु ८२ लाख लगानी गर्ने भएको हो । कार्यालयले बेमौसमी तरकारीखेतीमा रु २४ लाख, मौरीपालनमा रु ३६ लाख, साना सिँचाइमा रु ३० लाख लगानी गर्न लागेको जनाएको छ । यस्तै सहकारीमा आधारित खेतीमा रु तीन लाख, साना सिँचाइ तथा मूल बीउमा रु दुई लाख १० हजार, सहकारी योजना सञ्चालन गर्न रु चार लाख २० हजार, युवा स्वरोजगारमा रु चार लाख ८० हजार विनियोजन गर्ने वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले बताए ।
बेमौसमी तरकारीखेतीमा ६० जना युवालाई बढीमा रु ४० हजारका दरले, व्यासायिक च्याउखेतीमा २० जनालाई रु ४० हजार, मौरीपालनमा २० जनालाई रु एक लाख ८० हजार, साना सिँचाइ २० योजनामा बढीमा रु एक लाख ५० हजारका दरले खर्च गर्न सकिने उहाँले बताउनुभयो । सहकारीखेतीमा एकजनालाई रु तीन लाख, साना सिँचाइ तथा मूल बीउ ढुवानीतर्फ रु ३० हजार, योजना सञ्चालनका लागि प्रति सहकारीलाई रु चार लाख २० हजार र युवा स्वरोजगारमा आठजनालाई रु ६० हजारका दरले अनुदान उपलब्ध गराइने छ ।

प्रकाशित मिति: बिहिबार, माघ २९, २०७१