आइतवार, जेष्ठ ६, २०८१

कृषकलाई अनुदानमा मेसिन वितरण

नेपालगन्ज, २८ माघ । बाँके जिल्ला पशुसेवा कार्यालयले यहाँका कृषकलाई घाँस तथा पराल काट्ने ‘चारा मेसिन’ उपलब्ध गराउँदै आएको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई मेसिन उपलब्ध गराउने गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमअन्तर्गत जिल्लाका सीतापुर, बागेश्वरी, भवनियापुर, कम्दी, बैजापुर, कोहलपुरलगायतका गाविसमा मेसिन वितरण गरिएको छ । कुल ३६ गाविस रहेको यस जिल्लाका सबै गाविसमा कृषकको आवश्यकता अनुरुप सो मेसिन क्रमशः वितरण गरिने कार्यालयले जनाएको छ । गाई, भँैसीपालक कृषक समूह तथा पशु विकास फार्मका कृषकको मागअनुसार उक्त मेसिन वितरण भएपछि कृषकको व्यावसायिक उत्पादन बढ्नुका साथै व्यवसाय सरलीकरण हुने जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशुसेवा चिकित्सक राजेन्द्र प्रधानले बताए । घाँस तथा पराल नकाटी पशुलाई आहारा खुवाउँदा खाद्य तत्व पूर्णरुपमा प्राप्त नहुँने र नपच्ने हुन्छ । पशु छिट्टै बिरामी पर्ने, दूध उत्पादन कम हुने कुरालाई दृष्टिगत गरी सो मेसिन वितरण कार्यक्रम ल्याइएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७१