आइतवार, जेष्ठ ६, २०८१

मुस्ताङमा लागू भयो हिमाली

मुस्ताङ, २७ माघ । पशु, कृषि र जडीबुटीको व्यावसायिकरण र बजारीकरण गर्ने उद्देश्यले मुस्ताङमा हिमाली आयोजना लागू भएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोग र कृषि विकास मन्त्रालय अन्तर्गत पशुसेवा विभागको समन्वयमा चालु आर्थिक वर्षदेखि जिल्लामा यस्तो आयोजना लागू भएको पशुसेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा. नन्दलाल वर्माले जानकारी दिए । आयोजना अन्तर्गत याक, भेँडाच्याङग्रा, तरकारी उत्पादन, फलफूल प्रशोधन, स्याउ नर्सरी, रेन्बो ट्राउट, डेरी र जडीबुटी उत्पादन र प्रशोधनका लागि किसान समूह र सहकारीले व्यावसायिक योजनासहित आयोजना सञ्चालनका लागि प्रस्ताव गर्नुपर्छ ।

“यसरी आएको प्रस्तावलाई स्थलगत निरीक्षण गरेर हामीले कार्यक्रम स्वीकृत गर्छौ, कार्यालय प्रमुख वर्माले बताए, “कार्यक्रम स्वीकृत भएपछि रु ५० लाखसम्मको योजनामा सरकारलाई ८० प्रतिशत र सो भन्दा माथिलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।” पूँजीको अभावमा व्यावसायिकरुपमा अघि बढ्न नसकेका किसानलाई लक्षित गरी आयोजना सञ्चालन गरिएको उनले बताए  ।

आगामी फागनु १७ गतेसम्म किसानले कार्ययोजनासहित प्रस्ताव दर्ता गर्न सकिने पशुसेवा कार्यालयले जनाएको छ । “अहिलेसम्म ५६ भन्दा बढी प्रस्ताव आएका छन्, आयोजनाले निर्धारण गरेको सबै क्षेत्रमा यहाँ सम्भावना छ, कार्यालय प्रमुख वर्मालेबताए, “विभागका प्रतिनिधिसहितको रोहबरमा हामीले किसानको प्रस्ताव छनौँट गर्नेछौँ ।” मुस्ताङको उपल्लो क्षेत्रमा याक, भँेडा र च्याङग्रापालनको सम्भावना उच्च छ । तल्लो क्षेत्रमा तरकारी, फलफूल र स्याउको उत्पादन बढी हुन्छ । जिल्लाको सबै क्षेत्रमा प्रस्ताव आएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २७, २०७१